जनप्रतिनिधिको दबाबमा सीडीओको सरुवा: स्थानीयले बाजागाजासहित बिदाइ गरे

 भदौ १५, २०७६ आइतबार १७:३२:५४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको स्थानीय बासिन्दाले फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराइ भव्यरुपमा बिदाइ गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएर जानुभएका प्रमुख जिल्ला अधिकारी सुनारलाई सर्वसाधरणले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका हुन् । बझाङ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजासहित फूलमालाले बिदाइ गरिएको यो पहिलो घटना हो । 

गएको फागुन महिनामा बझाङ पुग्नुभएका सुनारले राजनीतिक प्रभावभन्दा पनि नागरिकको हकहितमा काम गरेको कारण आफूहरुले सुनारलाई फूलमालासहित बिदाइ गरेको सदरमुकाम चैनपुरका दिवसचन्द स्नेहीले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यसभन्दा अघि धेरै प्रमुख जिल्ला अधिकारीहरु आए पनि उहाँहरुले भन्दा सुनारले गरेका हरेक कामहरु बेग्लै छन् । नागरिकता दिनु मात्रै ठूलो कुरा होइन, सुनारले जिल्लाको लागि गरेका धेरै राम्रो अन्य कामहरु पनि छन् । जथाभावी काटिने सडकलाई समेत उहाँले रोक्नुभएको छ । यो नै बझाङ जिल्लाका स्थानीयहरुका लागी खुशीको कुरा हो ।’ 

साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले सीडीओ सुनारले गाउँगाउँमा पुगेर बुढापाकाहरुलाई नागरिकता वितरण गरेको बताउनु भयो । 

फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुरेश सुनार नेपालभरिकै कान्छा सीडीओ पनि हुनुहुन्छ ।  

सिडीओको सरुवाको कारण बन्यो सडक 

प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको मुख्य कारक भने सडक हाे । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोजर नियमनको लागि अग्रसरता लिएपछि यहाँका जनप्रतिनिधि रुष्ट भएका थिए । सिडिओप्रति रुष्ट भएका जनप्रतिनिधिहरु उहाँको सरुवाको माग गर्दै डेलिगेशनसहित दिनहुँजसो गृह मन्त्रालय धाउन थालेपछि उहाँको सरुवा भएको बताइएकाे छ । 

विसं २०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारीे भएर आउनु भएका सुनारले विसं २०७६ जेठबाट डोजर नियमनको प्रयास गर्नुभएको थियो । बिना कुनै सर्भे र डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका थुप्रै गाउँ जोखिममा परेको, धेरै मानिसको जीउ–धनको जोखिम बढेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि सीडीओ सुनारको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको थियो ।

यसरी हचुवाका भरमा सडक निर्माण गर्ने कामलाई तत्काल रोक्न कार्यालयले पत्रकार गरेको थियो । तर बेवास्ता गर्दै चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि जनप्रतिनिधिहरु झस्किएका थिए । 

नेपाल सरकारले विसं २०७५ फागुन १ गतेबाट लागू हुनेगरी एक करोड रुपैयाँभन्दा कमका आयोजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको गुनासो आएपछि प्रशासनले कारबाही गर्ने भनेर पत्राचार गरेको थियो । त्यसपछि जनप्रतिनिधि र प्रशासनबीच द्वन्द्व बढेको थियो । 
 
सीडीओको सरुवा माग गर्दै मन्त्रालय धाउने जनप्रतिनिधिहरुले भने आफूहरुसँग समन्वय नै नगरी काम गर्ने गरेको, नागरिकता दिनसमेत अप्ठ्यारो पार्ने गरेकोजस्ता आरोप सुनारमाथि लगाएका थिए ।  

तर सर्वसाधारणले भने सुनारको खुलेरै प्रशंसा गरेका छन् । सांसद आशाकुमारी विकले पनि सुनारले बझाङमा बस्दा राम्रो काम गरेको बताउनु भयो । बिना सर्वेक्षण डोजर चलाएर जिल्ला ध्वस्त पारेको कुरा आफूले पटक–पटक संसदमा उठाएको र सीडीओले गरेको प्रयास प्रशंसनीय भएको उहाँले भन्नुभयो । 

यस्तै नेपाल कम्युनिष्ट पार्टीका जिल्लास्तरीय नेता नरेन्द्रबहादुर खड्काले पनि पछिल्लो समय सीडीओ सुनारले राम्रो काम गरेको र राम्रो काम गर्नेलाई सरुवा गर्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । अब आउने सीडीओले पनि यही क्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । 

यता प्रमुख जिल्ला अधिकारी सुनारले पनि बझाङबाट धेरै कुराको पाठ सिकेको र आगामी दिनमा अझ राम्रो काम गर्ने बताउनु भयो । 

बझाङमा आफूहरुले चाहेको जस्तो काम नगर्दा सीडीओलाई जनप्रतिनिधिहरु मिलेर सरुवा गराउने अभ्यास छ । सर्वसाधारणले पनि सीडीओको सरुवालाई लिएर सामाजिक सञ्जालमा जनप्रतिनिधिहरुको चर्को आलोचना छन्  ।  

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया