जुम्लाकाे पातारासीमा वन उपभोक्ता महासंघको बैठक: 'हिमाल बचाउ अभियान' काे घोषणा

 भदौ २२, २०७६ आइतबार २०:४७:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले हिमाल बचाउ अभियानसहित वन क्षेत्र सम्बन्धित ‘२१ बुँदे जुम्ला घोषणापत्र’ जारी गरेको छ । 

कर्णाली प्रदेश जुम्लाको पातारासी गाउँपालिका–२ तल्फी गाउँमा भदौ २०–२१ बसेको महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकले ‘२१ बुँदे जुम्ला घोषणापत्र’ विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरबाट (२८ सय मिटर अग्लो स्थानमा) घोषणा गरिएको हो । 

वनपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकसहित देशभरका ७७ जिल्लाका केन्द्रीय समितिका  सदस्यहरु तथा जिल्लाका वन उपभोक्ता महासंघका पदाधिकारी, कार्यसमितिसहित स्थानीयको सहभागितामा हिमाल बचाऔं अभियानसहित वन क्षेत्रका विभिन्न सवालहरु उठाइएको हो । 

महासंघले नेपालका हिमालहरु जलवायु परिवर्तनका कारणले मासिने डर भएकाले सबै निकायलाई हिमाल बचाउ तथा संरक्षण अभियानमा लाग्न अपिलसमेत गरेको छ । केन्द्रीय अध्यक्ष भारतीसहितको टिमले पत्रकार सम्मेलनमार्फत पातारासीमा बसेको राष्ट्रिय कार्यसमितिको तेस्रो बैठकमा भएका निर्णयहरु सार्वजनिक गरेको हो ।

विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा महासंघले सार्वजनिक गरेको घोषणापत्रमा कर्णाली प्रदेशको जडीबुटी र पर्यटन विकासका लागि प्रदेश सरकारलाई सामुदायिक वनसँग सहकार्य गर्न प्रदेश सरकारलाई आह्वान गरेको छ । 

महासचिव ठाकुर भण्डारीले प्रस्तुत गर्नुभएको सामुदायिक वनकोे अभियानलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा घोषणा गरी प्रभावकारी बनाउँदै लगिने जनाइएको छ । समुदायलाई थप बलियो वनाउन संघ, प्रदेश र स्थानीय तहको नीति, वन ऐन, नियमावली, रणनीति, योजना र कार्यक्रमहरुमा सामुदायिक वन अधिकारलाई प्राथमिकता दिनुपर्ने, ७७ ओटै जिल्लामा आगलागी पीडितको लागी बीमा व्यवस्था गर्ने घोषणापत्रमा छ । 

यसैगरी वन क्षेत्रको सुशासन र प्रभावकारी सेवाको लागि महासंघले अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । यसका लागि अधिकारवाला, सरोकारवालाहरुको सहयोग र सहकार्यको लागि अनुरोध गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा सामुदायिक वन उपभोक्ता समूहका सदस्य पदाधिकारीहरुलाई क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, हरित सडक निर्माण गरी भूक्षय नियन्त्रणको लागि बायो इञ्जिनियरिङ कार्यक्रम सन्चालन गरिने जनाइएको छ । 

चर्को कर भएको भन्दै विरोध कार्यक्रम     

सामुदायिक वन उपभोक्ता समूहको स्वयत्ततामाथि हस्तक्षेप हुनेगरी तीन तहको सरकारले कानुन ल्याएको भन्दै विरोध गर्ने पनि बताइएको छ । महासंघको घोषणापत्रमा विगतदेखि सामुदायिक वन उपभोक्ता समूहहरुले नेपाल सरकारलाई १५ प्रतिशत कर तिर्दै आएका छन् । तर सरकारले विभिन्न बहानामा थप कर उठाउन सामुदायिक वनको स्वयत्ततामाथि हस्तक्षेप गरेको ठहर गरेका छन् । 

त्यसैगरी नेपाल सरकारले चुरे संरक्षण क्षेत्र घोषणा गरेको क्षेत्रमा मानव प्रवेश निषेध गरिएकोप्रति पनि आपत्ति जनाउँदै तत्काल खारेज गरिनुपर्ने बताइएको छ । जुम्लाको पातारासी हिमालको काखमा बसेर गरिएको अभियानप्रति स्थानीय पनि खुशी छन् । वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्णा चौलागाईँले हिमाल बचाउ अभियानसहित वन क्षेत्रका क्षेत्रमा जुम्ला घोषणापत्रले टेवा पुग्ने बताउनु भयो ।   

स्थानीय छन्चरीहाल्ला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बोहराले सरकारले समयमै जडिबुटी पुर्जी दिएमा सहज हुने बताउनु भयो । महासंघका महासचिव बिर्खबहादुर शाहीले जुम्लामा बैठक बस्नुको उद्देश्य हिमाल बचाऔं अभियान सहित पर्यटन वर्ष भिजिट ट्वान्टी-ट्वान्टी र कर्णालीको पर्यटन प्रबर्द्धन रहेको बताउनु भयो । 

जडिबुटी प्रशोधन उद्योगकाे उद्घाटन    

त्यसैगरी छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योगको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले गर्नुभयो । उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री बुढाले उद्योग र बैठक दुवैले कर्णाली क्षेत्रको जडिबुटी तथा वन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनु भयो । 

‘कर्णालीमा जडिबुटी, वन, पर्यटन, कृषिलगायतका ठूला तथा साना उद्योगको स्थापना हुनु जरुरी छ’, मन्त्री बुढाले भन्नुभयो, ‘तत्काल कर्णाली सरकारले साना लगानीका उद्योगमा विशेष जोड दिन्छ ।’ जडिबुटीको भण्डार पातारासीमा स्थापना गरिएको उद्योगले प्रदेश सरकारले लिएको नीतिमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

पर्यटकीय महत्व बोकेको विश्वको सर्वाधिक उचाइमा धान फल्ने पातारासीको छुमचौर ज्यूलाको छेउमा भएका सम्पन्न बैठकले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने प्रदेश सरकारले विश्वास लिएको उहाँले बताउनु भयो । त्यस्तै पातारासी गाउँपालिकामा रहेको चुनढुंगाबाट सिमेन्ट खानी स्थापना गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया