भारतबाट आउने पेट्रोलियम पाइपलाइन अब चितवन र काठमाण्डौसम्मै

 भदौ २४, २०७६ मंगलबार १०:१७:१९ | अर्जुन पोख्रेल
unn.prixa.net

अमलेखगञ्ज, बारा - भारतको मोतिहारिदेखि बारामा अमलेखगञ्जसम्म आइपुगेको पेट्रोलियम पाइललाइन चितवनसम्म ल्याउन सर्वेक्षण सुरु भएको छ ।

अमलेखगञ्ज देशको एउटा कुनो मात्रै भएको र त्यहाँबाट अन्यत्र डिजल ढुवानी गर्दा महँगो हुने भएकाले देशको मध्य भागसम्म पाइपलाइन पुर्‍याउन सरकारले तयारी थालेको हो । "चितवनको लोथरसम्म हामीले प्रारम्भिक सर्वेक्षण गरिसकेका छौँ, अब पाइपलाइन चितवनसम्म लैजान्छौ ।" निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्नुभयो ।

निगमले चितवनको लोथरसम्म पाइपलाइन पुर्‍याउन रुट सर्वे गरिसकेको छ । अब विस्तृत सर्वे गरिसकेपछि लागत पनि टुंगो लाग्नेछ । अहिले अमलेखगञ्जसम्म भारतबाट पाइपलाइनमार्फत तेल आए पनि पूर्वी र पश्चिम नेपालका डिपोबाट अमलेखगञ्ज जान भन्दा भारत जान नजिक पर्छ ।

अमलेखगञ्जमा अहिले दैनिक ४८ लाख लिटरसम्म डिजल ल्याउन सकिन्छ । यो देशको कुल मागको ७५ प्रतिशत हो । तर दूरी र कम भण्डारण क्षमताको कारण पूर्ण क्षमतामा डिजल ल्याउन सक्ने अवस्था छैन ।

यस्तै, निगमले काठमाण्डौसम्म पाइपलाइन विस्तारको अध्ययन थाल्ने भएको छ । "ठूलो माग काठमाण्डौमै छ, त्यही भएर हामीले काठमाण्डौसम्म पाइपलाइन जान सक्ने नसक्ने बारे अध्ययन थाल्दैछौँ ।" कार्यकारी निर्देशक पौडेलले भन्नुभयो ।

निगमले काठमाण्डौ- तराई फास्टट्र्याकको छेउ हुँदै काठमाण्डौसम्म पाइपलाइन पुर्‍याउन रुटको अध्ययन गरिरहेको छ । "खोकना आसपासमा ठूलो भण्डारणस्थल बनाउन जग्गा मिल्यो र धेरै गाडीको मुभमेन्ट गर्न मिल्ने भयो भने फास्ट्रयाक हुँदै काठमाण्डौसम्म पाइपलाइन पुर्‍याउन गाह्रो छैन ।" निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले उज्यालोसँग भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया