संस्थागततर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी र सामुदायिकतर्फ मेघा मावि उत्कृष्ट

 भदौ २४, २०७६ मंगलबार १७:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा देशभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।

संस्थागत विद्यालयतर्फ रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाण्डौ कपन प्रथम भएको छ । त्यस्तै नेपाल पुलिस स्कुल, साँगा, काभ्रेपलाञ्चोक दोस्रो र भ्याली भ्यू इंग्लिस स्कुल, काठमाण्डौ तेस्रो भएका छन् । उत्कृष्ट भएका विद्यालयले पनि क्रमशः रिलायन्स इन्टरनेशनल एकेडेमी काठमाण्डौ कपनले तीन लाख रुपैयाँ, नेपाल पुलिस स्कुल, काभ्रेले दुई लाख रुपैयाँ र भ्याली भ्यू इंग्लिस स्कुल काठमाण्डौले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय बालाजु तेस्रो हुन सफल भएका छन् ।

यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन । 

यस्तै संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल पुलिस स्कुल काभ्रे दोस्रो र सेन्ट जेभियर्स कलेज काठमाण्डौ तृतीय हुन सफल भएका छन् । उत्कृष्ट भएका ती विद्यालयलाई क्रमशः तीन लाख रुपैयाँ, दुई लाख र एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ् इन्जिनियरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ् हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई  एक÷एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
 
यस्तै विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिक तर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद  दुई लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका थिए ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया