जता फर्के पनि स्याउ नै स्याउ

 भदौ २७, २०७६ शुक्रबार १७:२:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - यतिबेला जुम्ला स्याउमय बनेको छ ।  किसान स्याउ टिप्न, भण्डार गर्न तथा निर्यातमा व्यस्त छन् । मुखै मिठ्याउने र मनै लोभ्याउने गरी स्याउ फलेपछि आन्तरिक पर्यटक पनि गाउँमै भुलेका छन् । गाउँबाट फर्किनेले कोसेलीको रुपमा स्याउ नै बोकेर लैजाने गरेका छन् ।

खाजाको रुपमा पनि स्याउकै प्रयोग भैरहेको छ । हरेक गाउँमा अतिथिहरुलाई स्याउले नै स्वागत गर्ने गरिएको छ । जुम्लामा अहिले प्रादेशिक कृषि औधोगिक महोत्सव भएकाले पाहुना र पर्यटकको चहलपहल छ । गाउँमा ४० देखि ५० रुपैयाँ किलोमा स्याउ बिक्री भैरहेको छ ।

किसान एकातिर आफ्नो बारीमा फलेका स्याउ बिक्री गर्न व्यापारीसँग समन्वय र सहकार्य गर्छन् भने अर्कोतिर आफैं पनि बजारमा स्याउ बिक्री गर्न लैजान्छन् । यस्तै स्याउ टिप्न र भण्डारण गर्न मात्रै नभई स्याउ खरिद गर्न व्यापारी बगैंचामा पुग्ने गरेका छन । आन्तरिक पर्यटकले समेत स्याउ बगैंचामा घुम्ने र खाने अवसर पाएका छन् ।

जुम्ला सदरमुकाम र अरु बजार क्षेत्रमा स्याउ बिक्री गर्न राखिएको छ । नेपालगन्ज, सुर्खेत र काठमाण्डौमा समेत निर्यात गर्ने, ढुवानी गर्ने काम पनि सँगै भैरहेको छ । यसका साथै स्याउका परिकार बनाउन समेत किसान व्यस्त छन् ।

विज्ञको सुझावमा भदौ पहिलो हप्तादेखि स्याउ टिप्न सुरु गरिएको हो । बगैंचाका केही स्याउ टिपेर बजार पुर्याइसकिएको छ भने उच्च भेगका स्याउ अझै बोटमै छन् ।

यसपालि एक महिनाभित्रै ५५ प्रतिशत स्याउ टिपेर सकिएको स्याउ सुपरजोन कार्यालय जुम्लाले जनाएको छ । सुपरजोन कार्यालयका कृषि विज्ञ जोगेन्द्र कान्दुका अनुसार यसपालि स्थानीय सरकारले बिक्रीको तथ्याँक राख्ने भएकाले पूर्ण विवरण आउन बाँकी छ ।

जुम्लाका सबै गाउँबस्तीका किसान स्याउ टिप्न र भण्डारणमा व्यस्त छन् । रारा पुग्ने पर्यटकले पनि जुम्लाका बगैंचाका ताजा स्याउ खाने अवसर पाएका छन् । सरकारी कामकाजमा जुम्ला आएका कर्मचारी पनि बगैंचामै छन् । आन्तरिक पर्यटकले अहिले स्याउ खाने अवसर पाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाले जानकारी दिनुभयो ।

अग्लो स्थानमा रहेको क्षेत्र र गोल्डेन जातको स्याउ भने अझै टिप्न बाँकी रहेको छ । किसानले जिल्लाका विभिन्न ठाउँमा बनाइएका कोल्ड स्टोरमा स्याउ भण्डारण गरिरहेका छन् ।

जिल्लाको उर्थुचौतारा, कार्तिकस्वामीमा चिस्यान स्टोर भएकाले किसानले स्याउ स्टोर गर्न थालेका छन् । स्याउ राम्ररी टिपेर भण्डारण गरेमा राम्रो भाउ पाउने भएकाले निर्यात सँगै भण्डारमा जोड दिइएको पातारासी ५ उर्थुका स्याउ किसान अर्जुन बिष्टले बताउनुभयो ।

जुम्लामा यस वर्ष स्याउ उत्पादन बढ्ने भएको छ ।  गएको वर्ष ३ हजार ५ सय मेट्रिक टन उत्पादन भएको स्याउ अहिले बढ्ने अनुमान गरिएको सुपरजोन कार्यालयले जनाएको छ ।  यसपटक ६ हजार मेट्रिक टन स्याउ फलेको अनुमान छ ।

तस्बिर : एप्पल गार्डेन जुम्लाकाे फेसबुक पेजबाट 

अन्तिम अपडेट: चैत १२, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया