प्रदेश १ लाई मानसिक रोगीरहित बनाइने

 असोज ४, २०७६ शनिबार १४:५७:२८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – शनिबार बिहान झण्डै ७ बजेर ३० मिनेट गएको थियो । सिप विकास तालिम केन्द्रमा रहेको प्रदेश सरकारका मन्त्री जीवन घिमिरेको निवासमा निकै चहलपहल थियो । केही बेरमै मन्त्री घिमिरेसहित सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई र प्रहरी निरीक्षकको टोली त्यहाँबाट निस्कियो । मन्त्री घिमिरेको निवासको उत्तर–पश्चिमतिर केही मानिसको भिड थियो । त्यहाँ केही पत्रकार र स्थानीयको भिड देख्दा लाग्थ्यो, पक्कै केही भएको छ ।  

त्यहाँ पुगेका सञ्चारकर्मीहरु पनि के भएको हो भन्ने आश्चर्यमा थिए । एक्कासी सचिव र मन्त्रीको गाडी देखेका स्थानीयले किन आएका होलान् भनेर सोधखाेज गर्दै थिए । तीमध्ये केहीले अब प्रदेश सरकारले गाउँ र शहरमा भएका मानसिक सन्तुलन गुमेका व्यक्तिहरुको उद्धार गर्ने रे ! भनेर कुराकानी गर्दै थिए ।  त्यही बिचमा देखिइन्, एक महिला ।  

यसरी भयो महिलाको उद्धार 

गाडीसहित विराटनगर महानगरपालिका– ३ मा रहेको हस्तबहादुर कार्कीको घरमा पुगेको टोलीले त्यहाँ मानसिकरुपमा अस्वस्थ भएकी दुर्गा कार्कीलाई भेट्यो । ४५ वर्षीया दुर्गा विक्रम संवत २०४९ सालदेखि मानसिक रोगी भएपछि उपचारको लागि काठमाण्डौ र राँची पनि लगियो तर उपचार सम्भव नभएपछि फर्काएर ल्याएको परिवारकाे भनाइ । 

संस्थाबाट मानसिक रोगी भएकाहरुलाई उपचार गर्न मन्त्री ज्युले सहयोग गर्ने भनेर सबै टोली नै आएपछि पठाउन लागेको उनका श्रीमान हस्तबहादुर कार्कीले बताउनुभयाे । ती महिलाका जेठा छोरा ३३ बर्षका छन् । उनका २ भाई छोरा एउटी छोरी हुन् ।  उपचार गर्नका लागि धेरै ठाउँमा लगे पनि आर्थिक समस्याका कारण उपचार हुन नसकेको कार्कीले जानकारी दिनुभयाे । 

अर्की महिलाको उद्धार भने असफल   

त्यसको केही समयपछि मन्त्री घिमिरेका स्वकीय सचिवलाई फोन आयो, ‘गाउँमा अर्की एउटा महिला पनि मानसिकरुपमा समस्यामा छिन्  ।’ दुर्गाको उद्धार गरेको मन्त्रीसहितको टोली अर्की महिला भएको ठाउँमा गयो । गाउँमा धेरै मान्छे आएको थाहा पाउने बित्तिकै भाग्ने ती महिलालाई खोज्न गाउँका केही व्यक्तिहरुसँगै अधिकारकर्मी कोषराज न्यौपाने र मञ्जीता उपाध्याय पनि थिए । 

ती महिलाको नाम सीतादेवी ओझा हो । स्थानीयका अनुसार उनका श्रीमान र छोरा पनि बिते । अहिले उनका तीन वटी छोरी छन् । उहाँ छोरीहरुकोमा पनि जानु हुँदैन । उहाँको मानसिक सन्तुलन बिग्रिएको १५ वर्ष बढी भैसकेको स्थानीयहरु बताउँछन्  । 

तर ती महिलाले उद्धार गर्न आएको टोलीसँग आफू कुनै पनि हालतमा नजाने बताइन् ।  महिलाका कुरा सुनेपछि मन्त्री घिमिरे र सचिव राईको टोली अर्को पटक महिला प्रहरी पठाएर उद्धार गर्ने रणनीतिका साथ फर्कियो ।

उद्धार गरिएकी महिला संस्थाको जिम्मामा   

उद्धार गरिएकी ती महिलालाई मानव सेवा आश्रम विराटनगरको संरक्षणमा राखिएको छ । देशभर झण्डै आठ सय जना महिला र पुरुषलाई संरक्षण गर्दै आइरहेको संस्थाले विराटनगरमा रहेको आश्रममा भने तीन जना पुगेको जनाएको छ । 

आश्रमलाई प्रदेश सरकार र स्थानीय पालिकाले पनि सहयोग गरेको छ । विराटनगर महानगरपालिकाले यस वर्ष १० लाख बजेट छुट्याएको छ ।  प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

प्रदेश १ लाई मानसिक रोगीरहित बनाइने   

प्रदेश सरकारले नीति कार्यक्रम ल्याउने क्रममा १ नम्बर प्रदेशलाई मानसिक रोगीरहित प्रदेश बनाउने घोषणा गरेको थियाे । अहिले सरकार त्यही कार्यान्वयन गर्ने अभियानमा रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । ‘मानसिक रोगीको समस्या गम्भीर र विकराल देखिएको छ’, मन्त्री घिमिरेले भन्नुभयो, ‘महिलाको हकमा उनीहरुमा हिंसाका घटना पनि बढी देखिएको छ ।’ 

पहिलो चरणमा महिलाको उद्धारलाई प्राथमिकतामा राखिएको छ । भोजपुरमा मानसिक सन्तुलन गुमाएकी एक महिलाले बच्चा पाएर अलपत्र अवस्थामा रहेको कुरा बाहिर आएपछि केही दिनअघि मात्र उद्धार भएको छ । मानसिक रोगी भएका सडक आश्रित महिलालाई पहिलो प्राथमिकतामा राखेर उद्धारको काम सुरु भएको मन्त्री घिमिरेले बताउनुभयो ।   

पहिलो चरणमा महिलालाई प्राथमिकतामा राखिएको भए पनि सडकमा रहेका मानसिक रोगी जो कोहीलाई पनि संरक्षण गर्ने गरी व्यवस्थापनको काम सुरु हुने मन्त्री घिमिरेको दावी छ । 

सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै सबै स्थानीय पालिका, विभिन्न संघसंस्था तथा सहयोगी हातहरुलाई सहयोग गर्न मन्त्रीले आह्वान गर्नुभएको छ । आश्रममा राखेर उपचार गर्ने खालका मानसिक रोगीलाई आश्रममै राखेर उपचार गराउने र अस्पतालमा लगेर चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने अवस्थाका रोगीलाई अस्पतालमा लगेर उपचार गरिने मन्त्री घिमिरेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया