साउदी अरबका द्ई ओटा तेल कम्पनीमा आक्रमणपछि अमेरिकाले सेना पठाउने !

 असोज ४, २०७६ शनिबार १९:२२:३८ | एजेन्सी
unn.prixa.net

साउदी अरबको तेल कम्पनी अराममा भएको ड्रोन आक्रमणपछि अमेरिकाले त्यहाँ सेना पठाउने घोषणा गरेको छ । 

अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना पठाउने योजना एक रक्षात्मक कदम भएको बताए । यद्यपि कति सैनिक पठाउने भन्नेबारेमा भने स्पष्ट भैसकेको छैन । 

यमनको हूती विद्रोहीले तेल कम्पनी अराममा गएको हप्ता भएको आक्रमणको जिम्मेवारी लिएको छ । हूती विद्रोहीलाई इरानको समर्थन प्राप्त छ । तर अमेरिका र साउदी अरब दुवैले इरानमाथि आक्रमणको आरोप लगाएका छन् । 

शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । साथै उनले सैन्य संघर्ष पनि बचाउन चाहेको इसारा गरेका छन् । 
ट्रम्पले यो इरानमाथि लगाइएको सबैभन्दा कडा प्रतिबन्ध भएको बताएका छन् । यो प्रतिबन्धको असर इरानको केन्द्रीय बैंक र त्यसको स्वायत्त खजानामाथि हुनेछ । 

ओभल अफिसमा सञ्चारमाध्यमसँगको अन्तक्रियामा उनले भने, ‘जसले ताकत देखाइरहेका थिए, अब उनीहरु थोरै संयमित रुपमा प्रस्तुत हुनेछन् ।’
तर शनिबार इरानको रेभोल्युशनरी गार्डका कमाण्डरले अलग्गै भाषामा जवाफ दिँदै देशविरुद्ध षड्यन्त्र गर्नेलाई ‘नष्ट’ गरिदिने बताए । 

मेजर जनरल हुसैन सलामीले सरकारी टिभीलाई दिएको बयानमा भने, ‘सावधान रहनुहोस् । हामी बदला लिन्छौँ र यो हाम्रो सबै दुस्मन समाप्त नभएसम्म जारी रहन्छ ।’

पेन्टागनले के भन्यो ?

अमेरिकी रक्षा मन्त्री एस्परले साउदी अरब र संयुक्त अरब इमिरेट्सले आफूहरुसँग मद्दतको अपिल गरेको बताए । उनले भने, ‘अमेरिकी फौज हवाई र मिसाइल सुरक्षामा ध्यान दिन्छ । साथै दुई देशबीच हतियारको आदनप्रदान पनि बढ्छ ।’

ज्वाइन्ट चिफ अफ् स्टाफका अध्यक्ष जनरल जोसेफ इनफोर्डले यसलाई एउटा सानो कदम बताए । उनले सैनिकको संख्या हजारमा नहुने बताए । तर उनले कस्ता सैनिक साउदी अरब पठाउनेबारेमा भने केही बोलेनन् । 

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार रक्षा मन्त्री एस्परलाई के अमेरिका इरानमाथि आक्रमणको योजना बनाइरहेको छ भन्ने प्रश्नमा उनले भने ‘हामी अहिले यो स्थितिमा पुगिसकेका छैनौँ ।’

साउदी अरबमा के भएको थियो ?

साउदी अरबको सरकारी तेल कम्पनी अरामको दुई वटा केन्द्र– अबकीक र खुरैसमा गएको हप्ता ड्रोनबाट आक्रमण हुँदा अस्थायीरुपमा यी केन्द्रमा तेल उत्पादन प्रभावित भएको छ । सँगसँगै विश्वभरि नै तेलको वितरण र मूल्यमा असर पुगेको छ । 

बुधबार साउदी अरबको रक्षा मन्त्रालयमा ड्रोन र मिसाइलको अवशेष देखाउँदै आक्रमणमा इरानको हात रहेको सबुत देखाइएको थियो । मन्त्रालयका प्रवक्ताले भने, ‘हामी अहिले आक्रमण कुन ठाउँबाट भएको हो भन्ने बारेमा जाँच गरिरहेका छौँ ।’

अमेरिकाले पनि आक्रमणको लागि इरानलाई जिम्मेवारी ठहराएको छ । वरिष्ठ अधिकारीहरुले उनीहरुसँग आक्रमण दक्षिण इरानबाट गरिएको सबुत रहेको अमेरिकी सञ्चारमाध्यमहरुलाई बताएका छन् । 

इरानले भने आक्रमणमा आफ्नो हात रहेको भन्ने कुरालाई लगातार नकार्दै आइरहेको छ । इरानका प्रधानमन्त्री हसन रुहानीले यो आक्रमण यमनका मानिसहरुले बदलाको भावना अनुरुप गरेको हुनसक्ने बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया