स्याउका चानाबाट मनग्य आम्दानी

 असोज ८, २०७६ बुधबार १३:२१:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा पछिल्लो समय किसानहरुले स्याउका चानासहित विभिन्न परिकारहरु बनाएर बिक्री गर्न थालेका छन्  ।

अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको चाना बनाउन किसानहरु उत्साहित भएका हुन् । जुम्लामा स्याउका चानादेखि विभिन्न प्रकारका परिकारहरु बनाउने सीप सिकेपछि किसानहरु स्याउका चाना तथा विभिन्न प्रकारका परिकारहरु  बनाउन जुटेका हुन् ।

सीप सिकेकामध्ये एक हुनुहुन्छ स्थानीय धर्मराज न्यौपाने ।उहाँले विगत १० वर्षदेखि स्याउको चाना बनाएर बिक्री गर्दै आउनुभएको छ । न्यौपानेजस्तै गाउँका गाउँका अरु किसानहरुले पनि तालिम लिएर स्याउका चाना बनाएर बिक्री गर्न सुरु गरेका छन् । चन्दननाथन गरपालिका-४ का न्यौपानेले ‘निलकष्ठ स्याउचाना उद्योग’दर्ता गरेर घरमै स्याउका चाना उद्योग सञ्चालन गर्दै आउनुभएको छ । 

वार्षिक साढे दुई लाख आम्दानी:

बर्सेनि स्याउकाे सिजन भएको ३ महिनामा ७ देखि १० क्विन्टल सुकाएको चाना उत्पादन गर्दै आएको र त्यसबाट दुईदेखि साढे दुई लाख रुपैयाँ फाइदा हुने गरेको न्यौपानेले जानकारी दिनुभयाे । उहाँले ३ महिनाको स्याउका चानाबाटै परिवारको खर्चकाे जाेहाे हुने गरेकाे बताउनुभयाे ।

उहाँले स्याउकै आम्दानीबाट जेठी छोरी अन्जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स र छोरा अरुणलाई इन्जिनियर पढाउनुभएकाे छ । दुवै छाेराछाेरीले पढाइ सकेर आ-आफ्ना क्षेत्रमा काम गर्न सुरु गरिसकेका छन् ।

अहिले न्यौपानेकाे उद्याेगबाट उत्पादित स्याउका चाना बजारका मुख्य बिक्री केन्द्रहरुमा होलसेलमा बिक्री हुने गरेको छ ।

उहाँले घरकाे छत, कोठा, भान्सादेखि सबै ठाउँमा स्याउका चाना सुकाउनु भएको छ । याे वर्ष १० क्विन्टलभन्दा बढी चाना उत्पादन गर्ने लक्ष्य अनुरुप स्याउका चानाकाे एक हजारभन्दा बढी सिल तयार हुने क्रममा रहेकाे उहाँले जानकारी दिनुभयो । 

स्याउ किसानलाई स्याउ प्रशोधन (खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन) कार्यालय जुम्लाले लामो समयदेखि स्याउका चाना, जाम, जेली लगायतका विभिन्न परिकारहरु उत्पादन गर्न तालिम दिँदै आइरहेको छ ।

डिभिजन प्रमुख अमितभुषण सुमनले तालिमले स्याउ किसानलाई विभिन्न परिकारहरु बनाएर व्यवसाय गर्न सहयाेग गरेकाे बताउनुभयाे ।

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया