महालक्ष्मी नगरपालिकाका कर्मचारीले साउनदेखि तलब पाएनन्, दशैँको मुखमा रित्तो हात

 असोज १०, २०७६ शुक्रबार २०:४९:४३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ –  धनकुटाको महालक्ष्मी नगरपालिकाका शिक्षा संयोजक (उपसचिव) सूर्यप्रसाद सुवेदीले तलब नपाएको साउन महिनादेखि नै हो ।

दशैँ आउन अब १० दिन पनि बाँकी छैन तर अहिलेसम्म तलब नआउँदा सुवेदीजस्ता धेरै कर्मचारीलाई समस्या भएको छ । सुवेदीले तलब नपाएको गुनासो फेसबुकमा पोख्नुभयो, ‘आज पनि मोबाइलको म्यासेज बक्समा राष्ट्रिय वाणिज्य बैंकको म्यासेज आएन । भोलि दशैँको जमरे औँसी रे । चाडपर्व खर्च त टाढैको कुरो भयो । श्रावणदेखि आजसम्म धन्न होटलमा खाना खान पाइएको छ । होटल धनी राम्रो हुनुहुन्छ । म र म जस्ताको मर्म बुझ्नु हुन्छ । आफै पकाएर खाना खान थालेको भए बिजोग हुने रहेछ । अब महिनावारी तलब खाने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाउनु पर्ने भयो जस्तो छ । तलब दिन पनि आफ्नै निजी सम्पत्तिबाट दिनु पर्ने जस्तो व्यवहारदेखि म अचम्मित छु । तलबको पेरोल, भौचर र चेक तयार गर्न नसक्ने भए सक्दिनँ भनेर श्री ३ ले हात उठाए म नै १ घण्टामा तयार गरेर बैङ्क पठाउने थिएँ ।’

उहाँले लेखेको यो फेसबुक स्टाटसले महालक्ष्मी नगरपालिकामा कार्यरत सबै कर्मचारीको प्रतिनिधित्व गर्छ ।  निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत कसैले पनि साउनदेखि तलब पाएका छैनन् ।

सुवेदीकै भनाइलाई आधार मान्ने हो भने, ‘संघीयता कार्यान्वयन पछि न तलब  समयमा छ, न कर्मचारी सञ्चयकोषको रकम नियमित जम्मा नै हुन्छ ।’  अनि नागरिक लगानी कोषको रकम समेत समयमा जम्मा हुन नसकेको आरोप लाग्दै आएको छ ।  बेथितिले सीमा नाघेको कर्मचारीहरु बताउन थालेका छन् ।

यस नगरपालिकामा मात्र  ४५ जना कर्मचारीको दरबन्दी हो । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा ७० जनाभन्दा माथि कर्मचारी गरि करिब १२० जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन् । यस नगरपालिकामा काम गर्ने शिक्षकको त गन्ती नै गरिएको छैन । कति कर्मचारी छन् भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृतसँग पनि छैन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले निकासा हुन ढिला भएको कारण मुख्य समस्या भएको बताउनुभयो, ‘अहिलेसम्म कुनै पनि कर्मचारीलाई तलब दिइएको छैन, मैले पनि तलब खाएको छैन ।’ उहाँले भन्नुभयो,  ‘अबको २/३ दिन भित्रमा सबैलाई तलब खुवाउने तयारी भइरहेको छ ।’

सुरुमा नियमित तलब खुवाएको दाबी गरे पनि प्रमुख प्रशासकीय अधिकृत रायमाझीले पछि भने चार महिनादेखि तलब निकासा नभएको स्वीकार गर्नुभयो ।  ‘खाता सञ्चालन नभएका कारण निकासा भएको थिएन’, उहाँले भन्नुभयो, ‘संघबाट नै यस्तो हुँदा मैले पनि तलब पाएको छैन ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया