चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लामो लिङ्गो ठड्याएर घटस्थापना

 असोज १२, २०७६ आइतबार १९:४२:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला– प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामो लिङ्गो ठड्याएर परम्परागत धार्मिक विधिअनुसार घटस्थापना गरिएको छ । 

परम्पराअनुसार मन्दिरमा लिङ्गाे ठड्याइसकेपछि मात्रै जुम्लावासीहरुले आ–आफ्नो घरमा घटस्थापना गर्ने चलन छ । जुम्ला सदरमुकामको केन्द्रमा रहेको मन्दिरमा ५२ हाते र ५२ हाते ध्वजासहितको नयाँ लिङ्गो फेरिने चलनअनुसार भव्य र उत्साहका साथ जुम्लावासीहरुले घटस्थापना गरेका हुन् । 

परापूर्व कालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित पाँच पुराना लिङ्गोहरु झिकेर नयाँ लिङ्गो खडा गर्ने गरेको स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । उहाँकाअनुसार जिल्लाका सरकारी उच्च ओहदाका व्यक्तिहरुको उपस्थितिमा स्थानीय र सुरक्षाकर्मीको सहयोगमा हरेक वर्ष लिङ्गो फेरिने गरिएको छ । विक्रम संवत १४९८ सालदेखि मन्दिरमा लिङ्गो गाड्ने परम्परा रहिआएको बताइन्छ । 

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिकाअनुसार प्रत्येक दिन पूजा हुने प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा हुन्छ, वर्षमा ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गो खडा गरी घटस्थापना गर्ने चलन रहिआएको छ । 

जंगलबाट लिङ्गो ल्याउन दुई दिनअघि नै नेपाली सेना, प्रहरीसहित स्थानीय एकजुट हुने गरेका छन् । यो व्यवस्था अहिले गुठिले नै गर्ने गरेको आचार्यले जानकारी दिनुभयो । 

घटस्थापनाको दिन मन्दिरमा लिङ्गो ठडाएपछि घरमा जमरा राख्ने चलन छ । स्थानीय पूर्णप्रसाद धितालले घटस्थापनामा लिङ्गो ठड्याउने विषय धार्मिक र पर्यटकीय सम्भावनाको रुपमा लिनुपर्ने र चन्दननाथ मन्दिरको पूर्वाधार तयार गरिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया