अवरुद्ध हिले-पाख्रीवास-लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनकाे पहल

 असोज १४, २०७६ मंगलबार १९:५०:७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - अविरल वर्षाका पूर्णरुपमा क्षति भई यात्रुहरुलाई आवत जावतमा समस्या भएपछि हिले पाख्रीवास लेगुवा सडकखण्ड खुलाउन स्थानीय प्रशासनले पहल थालेको छ ।

सडकका कारण सास्ती बेहोर्नु परेको भन्दै नागरिकहरुले गुनासो गर्न थालेपछि स्थानीय प्रशासनले सक्रियता देखाएको हो । धनकुटाको हिलेबाट पाख्रीवास हुँदै लेगुवासम्मको २६ किलोमिटरको यात्रा गर्न अहिले एक दिनसम्म लाग्ने गरेको छ ।

धनकुटा हुँदै भोजपुर र संखुवासभासम्मको यात्रा पूरा गर्न लगभग कठिन छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको निमार्णाधीन अवस्थामा रहेको त्यस सडकखण्ड वर्षाका कारण दर्जनौँ ठाउँमा भत्किएका छन् । लेगुवाबाट बिहान हिँडेका यात्रु साँझ धनकुटा आइपुग्न अहिले हम्मे-हम्मे पर्ने गरेको छ ।

सडकखण्डको दर्जनौँ ठाउँमा हिलोमा फसेका गाडीलाई क्रेन र डोजरको सहयोगमा निकाल्दै यात्रुहरुलाई गन्तव्य स्थानतर्फ पठाउने गरिएको छ ।

चाडबाडका बेला दैनिक उपभोग्य सामग्रीह ढुवानीमा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाको सक्रियतामा सर्वपक्षीय भेला आयोजना गरी सरोकारवाला पक्षलाई बाटाे खुलाउन निर्देशन दिइएकाे छ । प्रतिनिधिसभाका सदस्य राजेन्द्र कुमार राई, प्रदेशसभाका सदस्य निरन राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायत सरोकारवालाहरुको सर्वपक्षीय भेलाले हिले पाख्रीवास खण्डको १३ किलोमिटर सडकखण्ड दशैँ तिहार अवधिभर कुनै पनि अवरोध नहुने गरी निर्वाध सञ्चालनको लागि सडक निर्माणको लागि ठेक्का पाएको कञ्चनजंघा कन्स्ट्रक्सनले व्यवस्था मिलाउने निर्णय गरेको हाे ।

कन्स्ट्रक्सनले भाइटीकाको भोलिपल्टदेखि सडक ग्राभेल गर्न सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेकाे प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताउनुभयाे ।

त्यस्तै बिरु कन्स्ट्रक्सनले पञ्चे लेगुवा १३ किलोमिटर सडकखण्ड पनि दशैँ तिहार अवधिभर निर्वाध रुपमा सञ्चालन गराउने र तिहार लगत्तै बाँकी काम सुरु गरेर २०७६ चैत्र मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गरेकाे छ ।

ती निर्माण कम्पनीहरुकाे प्रतिबद्धतालाई अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी मध्यपहाडी लोकमार्ग आयोजनालाई दिइएको प्रमुख जिल्ला अधिकारी डा.घिमिरेले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया