बैतडीको झुलाघाट सीमा नाका बिहीबारदेखि ३ दिनका लागि बन्द

 असोज १६, २०७६ बिहिबार १९:१६:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - नेपाल-भारत सीमा नाका बैतडीको झुलाघाटमा बिहीबारदेखि ३ दिनका लागि बन्द भएको छ ।

भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारिख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्यको चुनाव हुने भएकाले सीमा नाका बन्द भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा संवेदनशीलताका कारण सीमा नाका बन्द हुने उहाँले बताउनुभयो । बिहीबार साँझ सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उहाँले बताउनुभयो ।

यसका साथै अक्टोबर १६ तारिख अर्थात (असोज २९ गते) का दिन भारतको धार्चुला जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमा नाका पनि बन्द हुने भएको छ । त्यो नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाइएको छ ।

चाडपर्वका बेला सीमा नाका बन्द हुने भएपछि भारतवाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । बिरामी तथा आकस्मिक रुपमा चुनावको बीचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया