सल्यानमा बालविवाहको आरोपमा दुलाहा-दुलही र पुराेहितसहित ७ जना पक्राउ

 असोज १७, २०७६ शुक्रबार १७:७:२१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - बालविवाह गराइरहेको आरोपमा प्रहरीले सल्यानको शिद्धकुमाख गाउँपालिकाबाट ७ जनालाई पक्राउ गरेको छ ।

बालविवाह हुँदै गरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले शिद्धकुमाख गाउँपालिका-४, चाँदेकरञ्जीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा १९ वर्षीय दुलाहा र १९ वर्षीय नै दुलहीसहित दुलाहाका बुवा लोकबहादुर बोहरा र आमा माया बोहरा, दुलहीका बुवा रत्नबहादुर रावत र कलौटी रावत तथा विवाह गराउने पण्डित रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

यसैगरी जाजरकोटकाे कुसे गाउँपालिका-९ घर भएका पुराेहित २५ वर्षीय नविन आचार्य पनि उनीहरुसँगै पक्राउ परेका छन् । उनी हाल शिद्धकुमाख गाउँपालिका ४ मा बस्दै आएको प्रहरीले जनाएको छ ।

शिद्धकुमाख गाउँपालिका-२ शिद्देश्वरी घर भएकी १९ वर्षीया किशाेरीकाे बिहीबार स्थानीय परम्परा अनुसार विवाह हुन लागेकाे थियो ।

सल्यान प्रहरी बालविवाहको मुद्धामा अहिले निकै जोडतोडका साथ लागिरहेको छ । केही समय अघि खैराबाङ मन्दिरमा हुन लागेको सरमुकामकै बालविवाह पनि प्रहरीले रोकेको थियो भने शारदा नगरपालिकाकै पिपलनेटामा पनि एक जोडीकाे उद्धार गरिएकाे थियाे । 

आफूहरुले बालविवाह रोक्न सचेतनामा विशेष जोड दिएको डीएसपी खतिवडाले बताउनुभयो । कानुन उल्लंघन गरी बालविवाह गरेमा जाेसुकैलाई पनि कानुन अनुसार कारबाही हुने बताउँदै सल्यान कर्णाली प्रदेशमा सबैभन्दा बढी बालविवाह हुने जिल्ला भएकाले धेरैले यसलाई गम्भीर रुपले नलिँदा समस्या भएको उहाँले बताउनुभयो ।

कानुनले वालविवाह गराउनेहरुलाई तिनवर्ष सम्मको कैद र तिस हजार रुपैँया सम्मको जरिवानाहुन सक्ने व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया