सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

 असोज २७, २०७६ सोमबार १९:३३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पमा क्षति पुगेको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।

प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको नेपाल पुनर्निमाण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मीप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभयो । जेभीले भ्याट बाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ ।

सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरणको काम भैरहेको छ ।

आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा बलियो हुने गरी प्रबलीकरण गरिने जानकारी दिनुभयो । ठेक्का पाएकाे कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रबलीकरण कार्यको परामर्शदातामा आईआरसी–इकोकोड नेपाल जेभी छनौट भएको छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३०को आगलागीबाट बचेको भाग हो ।

आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया