नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता, यूएईसँगको श्रम सम्झौता कार्यान्वयनका लागि संयुक्त बैठक बस्ने

 असोज २९, २०७६ बुधबार १५:५९:४५ | उमाकान्त पाण्डे

यूएई - नेपाल र यूएईका श्रममन्त्रीबीच बुधवार यूएईमा भेटवार्ता भएको छ ।

बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई आउनु भएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उहाँका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राख्नुभएको थियो । जवाफमा नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले बताउनुभयो ।

भेटघाटपछि उज्यालोसँग कुरा गर्दै मन्त्री विष्टले यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा नोभेम्बर पहिलो हप्ता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी  सहमति भएको बताउनुभयो ।    

मन्त्री हम्लीले नेपाल र नेपालीले यूएईलाई दिएको योगदानको प्रशंसा गर्दै द्विदेशीय सम्बन्ध विकासमा यूएई प्रतिबद्ध रहेको बताउँदै सहयोग र सहकार्य गर्ने जनाएको भेटघाटमा सहभागी यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई बताउनुभयो ।

भेटघाटमा दुई देशका मन्त्रीसहित, श्रम मन्त्रालयका सचिव बिनोद केसी र राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी भएको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया