समग्रमा यस्तो रह्यो विश्वकप फुटबल २०१८

 असार ३२, २०७५ सोमबार १५:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औँ संस्करण फ्रान्स च्याम्पियन भएसँगै आइतबार रुसमा सम्पन्न भएको छ । अब चार वर्ष पाँच महिनापछि कतारमा २२औँ संस्करण हुनेछ ।
 
रोमाञ्चक, प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो ।  पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ ।

यस्तो रह्याे रुस विश्वकप

विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्वकपलाई रसियाले सफल रुपमा सम्पन्न गरेको छ । अप्रत्यासित र रोमाञ्चक रुपमा भएका खेलहरुले कति समर्थकलाई दुःखका आँसु झार्न बाध्य बनायो भने कतिलाई खुसीका ।
 
आयोजनाको हिसाबले मात्र होइन तथ्याङकका हिसाबले पनि रसिया विश्वकप निकै रोमाञ्चक बन्यो । एक महिनाको महोत्सवमा कुल ६४ खेल हुँदा १६९ गोल भएका थिए । जसमा पहिलो हाफमा ६५ गोल हुँदा दोस्रो हाफमा १०४ गोल भएका थिए ।
 
सन् १९६६ पछि फाइनलमा सबैभन्दा धेरै ६ गोल भए । यो विश्वकपमा अतिरिक्त समयमा मात्र ३ गोल भएका थिए । तर तीनै गोलले बलिया टिमलाई घर पठाएको थियो ।
 
विश्वकपको समूह चरण अन्तर्गत पहिलो चरणमा ३८ गोल भएका थिए भने दोस्रो चरणमा ४७ गोल भएका थिए । र, तेस्रो चरणमा ३७ गोल भए । समूह चरणमा जति पनि गोल भए त्यो ९० मिनेटमा भएका थिए ।
 
नकआउट चरणमा चार खेल पेनाल्टी सुटआउटमा गएका थिए । यस्तै टाइब्रेकरमा कुल २६ गोल भएका थिए । त्यस्तै खेलमा नियमित समयभित्र पाएको पेनाल्टीमा २२ गोल भए । त्यसमा धेरै पेनाल्टीमा गोल हान्ने खेलाडीमा एन्टोइन ग्रिजमन र ह्यारी केन रहे । दुवैले तीन–तीन गोल गरेका थिए ।
 
यो विश्वकपमा कुल ७ वटा पेनाल्टी मिस भए । जसमा सबै भन्दा चर्चामा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको रह्यो । यो विश्वकपमा फ्रिकिकबाट ६ गोल भए भने १२ वटा आत्मघाती गोल भए ।
 
विश्वकपको इतिहासमा १९७८ पछि कम रेड कार्ड दिइयो । यो विश्वकपमा मात्र ४ वटा रेडकार्ड दिइयो । यस्तै २१९ पहेलो कार्ड दिइयो ।
 
यस विश्वकपमा दुई खेलाडीले ह्याट्रिक पूरा गरे । यो विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो र ह्यारी केन हुन् । ९ खेलाडीले सब्स्टिच्यूटका रुपमा मैदान छिरेर गोल गरे ।

इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केन सर्वाधिक गोलकर्ता बने । उनले ६ गोल गरे । धेरैले अनुमान गरेभन्दा विपरीत क्रोएसिया विश्वकपको फाइनलमा पुग्दा ठूला र दावेदार भनिएका टोलीहरुको विश्वकप सुखद रहेन ।
 
त्यसैले विश्वकपमा ठूला टिम र साना टिम भनेर जुन अन्तर राखिने आम भ्रम थियो त्यसलाई आधुनिक फुटबलको पछिल्लो ठूलो प्रतियोगिताले पूर्ण रुपमा  भनेर जुन बुझाइ थियो त्यो पूर्ण रुपमा निराकरण गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया