भाइटीकाको साइत कात्तिक १२ गते ११ : ५५ बजे

 कात्तिक ४, २०७६ सोमबार ६:४१:३६ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ : ५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो । 

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ । 

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ ः ४३ बजेसम्म औँसी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

तिहारका सम्बन्धमा फैल्याइएको भ्रममा नपर्न आह्वान

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ । 

कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ । कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिको निर्णय छ । यसै अनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने सदस्य सचिव ढुङ्गेलले बताउनुभयो । 

समितिले २०७७ सालको असोज महीनामा अधिकमास (मलमास) पर्ने जानकारी समेत आम सर्वसाधारणमा गराएको छ । विभिन्न धार्मिक कृत्यका लागि एक वर्ष अघि नै मलमासको जानकारी आम मानिसलाई दिनुपर्ने भएकाले सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया