विद्युतीय बस खरिद प्रक्रियामा ढिलाइ किन ?

 कात्तिक ४, २०७६ सोमबार ६:५७:७ | रासस
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातसँग बस खरीद प्रक्रियामा भइरहेको ढिलाइका बारेमा सोधपुछ गरेको छ । मन्त्रालयले गएको असारमा नै विद्युतीय बस खरीदका लागि सहकारीको तीन अर्ब रुपैयाँको शेयर खरिद गरे पनि अपेक्षाकृत रुपमा प्रक्रिया अघि नबढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता राजेश्वर ज्ञवालीले बताउनुभयो । चाँडो खरिद गर्नकै लागि सार्वजनिक खरिद प्रक्रियामा नगएर सरकारले ‘जीटुजी’ (सरकारी निकायका बीचमा) माध्यममार्फत गरिएको उहाँको भनाइ छ । यो माध्यमबाट खरिद गर्ने निर्णय भए पनि पाँच महिना बित्दासमेत मन्त्रालयले चाहे जस्तो प्रगति नपाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यो अवधिमा साझाले हामीलाई यी यी कुरा भए भनेर जानकारी गराएको छैन ।’

मन्त्रालयले चाहे जस्तो नतिजा आइनसकेकाले खरिद प्रक्रियाबारे जानकारी मागे पनि खरिद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । खरिद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले पनि बस खरिद सकेसम्म चाँडो होस् भन्ने चाहनुभएको छ ।’

विद्युतीय बस खरिदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरिद गरेका थिए । नेपाल सरकारले तीन अर्ब रुपैयाँ, प्रदेश नं ३ ले ३० करोड रुपैयाँ, काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको शेयर खरिद गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया