दुधे छोरी छोडेर बुहारी बेपत्ता, सासूससुरा भन्छन् : बुहारीलाई फोनले बिगार्‍याे

 जेठ ९, २०७५ बुधबार १३:६:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा, जेठ ९ – पाल्पाको तानसेन नगरपालिका –१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर वेपत्ता भएकी छन् । 

परदेशमा रहेका श्रीमान् नेपाल आउने थाहा पाएपछि तुलसा छोरीलाई घरमै छोडेर हिँडेकी ससुरा दलबहादुर विकले जानकारी दिए ।

२० वर्षीया तुलसा गएको आइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए । 

तुलसाकी सासू उजेली र ससुरा दलबहादुरका अनुसार छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर उनी हिँडेकी हुन् । 

श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन्, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुने र खाना खान पनि नमानेको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया