वैदेशिक रोजगारीलाई सुरक्षित गर्दै केपिलासगढी गाउँपालिका

 कात्तिक ७, २०७६ बिहिबार २०:३७:१५

खोटाङ - खोटाङको केपिलासगढी गाँउपालिकाले वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र बनाएर तथ्यांकको निचोडको आधारमा योजना निर्माण गर्ने भएको छ ।

खोटाङ्का जनप्रतिनिधिहरुले वैदेशिक रोजगारसम्बन्धी पालिकाको पार्श्वचित्र बनाई तथ्यांकको निचोडको आधारमा योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाल सेवा समाज नेपालले आयोजना गरेको एक दिने सुरक्षित आप्रवासन विषयक जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो  ।

वैदेशिक रोजगारसम्बन्धी पालिकाको पार्श्वचित्र तयार गर्ने प्रक्रिया  १ हप्तामा सम्पन्न गरिने पालिकाले जनाएको छ । 

वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षित गर्दै सञ्चालन भएको सीप तालिममा युवाहरुको संख्यालाई वृद्धि गर्ने, वैदेशिक रोजगारका कारण समस्यामा परेका युवाहरुलाई न्यायमा सहजीकरणमा सहयोग गर्ने, उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने साथै वैदेशिक रोजगारीले निम्त्याएका मानोसामाजिक समस्याहरु न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वन गर्ने गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।

स्थानीय तहको यस कामलाई सामी परियोजनाले सहयोग गरको हो । सामी, हेल्भेटासको सहजीकरणमा केपिलासगढी गाउँपालिकाले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार गाउँपालिकाबाट ७ सय ९९ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ६० जना महिला र ७ सय ३९ जना पुरुष रहेका छन् ।

सामी परियोजना नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौतामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत स्थानीय तहहरुमा सञ्चालन भइरहेको छ । कार्यक्रमको गुणस्तरका लागि हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्दे आएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया