एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा आगजनी

 कात्तिक ८, २०७६ शुक्रबार १०:३७:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङडोलेमा रोकिराखेको गाडीमा बिहीबार राति परिचय नखुलेको समूहद्वारा आगजनी भएको छ । बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राति करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

एनसेल टावर मर्मतको काम सकेर स्थानीयको घरमा मर्मत टोली बास बसेको र नजिकै सडकमा रोकिराखेको अवस्थामा गाडीमा आगजनी भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

आगजनी भएको खबर आएलगत्तै कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । अहिले मुचुल्का उठाउने काम भैरहेको र घटनाको विषयमा स्थानीयसँग सोधपुछको गरी आगजनी गर्ने समूहको खोजी सुरु गरिएको प्रहरीको बताएको छ ।

आगलागीबाट भाडामा लगिएको बोलेरो जीप जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो । मध्यरातमा गाडीमा आगजनी भएको हुँदा कसले गरेको हो भन्ने खुल्न सकेको छैन । एनसेलको टोलीले धौलागिरी क्षेत्रको पर्वत र बागलुङमा एनसेलको टावर मर्मत गरी म्याग्दीमा आएको थियो । टावरको मर्मत कार्य भने सकिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया