दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउनुस् : प्रचण्ड

 कात्तिक ८, २०७६ शुक्रबार १७:३:५७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका दुई मुर्ख कमाण्डरको पार्टी एकतालाई आँखाको नानी बनाउन पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता प्रशिक्षणको क्रममा अध्यक्ष प्रचण्डले दुई पार्टीका दुई मुर्ख कमाण्डरले गरेको निर्णयमा सबै कार्यकर्ता हाम्फालेर लागेका कारण एकता सफल भएको बताउनु भएको हो ।

पार्टी एकतापछि एकले अर्कोलाई चिन्नु पर्ने र विस्वास दिलाउनु पर्ने बेला अहिले भएकोले पार्टी एकतालाई आँखाको नानी बनाएर अगाडि बढाउन उनले कार्यकर्तालाई आग्रह गरेका हुन् । पछिल्ला समय केही गतिविधिहरु भएको र त्यसले पार्टीभित्र घुन पुत्लो लगाउने प्रयास भइरहेको बताउँदै प्रचण्डले पार्टी एकता भएको देख्न नचाहने केही तत्वहरुलाई जवाफ दिनु पर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

‘पार्टी एकता विचार नमिलेर हैन विचार मिलेर नै एकता भएको हो’, उहाँले भन्नुभयो, ‘एमालेको नवौँ महाधिवेशनको लाइन र माओवादीको हेटौँडा महाधिवेशनको लाइन एकै भएपछि पार्टी एकता सफल भएको हो ।’ उहाँले जनताको बहुदलीय जनवाद(जबज)लाई निस्तेज  पार्ने काम नभएको बताउँदै यसलाई पार्टीको सम्पत्तिको रुपमा लैजानु पर्ने स्पष्ट पार्नुभयो ।  जबजलाई सकारात्मक रुपमा विश्लेषण गरी पार्टीको सम्पत्तिको रुपमा अगाडि लैजानुको बिकल्प नभएको बताउनुभयो ।

मदन  भण्डारीको विकास र प्रचण्डको विकास सँगै भएको  सवाललाई एकै ठाउँमा राखेर  झण्डै ५० मिनेट भाषण गरेका अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको  पूँजीको व्याख्या गर्दै मदन भण्डारीको योगदान र उच्च सम्मान पनि पार्टीले गरेको बताउनुभयो ।  उहाँले माओवादी जनयुद्धले खेलेको भूमिका, शहीदले गरेको बलिदान र प्रचण्डले खेलेको भूमिकाको पनि सकारात्मक मूल्याङ्कन गरिएको जानकारी दिँदै त्यसलाई पनि दस्तावेजका रुपमा संरक्षण गरिएको बताउनुभयो ।

‘पार्टी एकतापछि मदन भण्डारी र जनताको बहुदलीय जनवाद पनि सिङ्गै पार्टीको सम्पत्ति भयो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी जनयुद्ध, शान्ति सम्झौता अरु सबै परिवर्तन  र प्रचण्डलाई पनि साझा सम्पत्ति बनाइएको छ ।’ यसलाई आत्मासात गर्दै समयको परिवर्तनसँगै परिमार्जन गर्दै जाने भएकोले अहिलेको समय भएको क्लाइमेक्सको सुरुवात भएको बताउनुभयो ।

अहिले आफूले आफैतिर खोस्रिएर कुखुरो जस्तो नहुन कार्यकर्तालाई सुझाउनुभयो ।  उहाँले भन्नुभयो, ‘कुखुरो जस्तो हैन चिल जस्तो भएर विश्व चिन्नुस्’, उहाँले आग्रह गर्नुभयो । ‘माओवादीबाट आएकालाई माओवादी र २१औँ शताब्दीको जनवाद भनेर जान पाए हुन्थ्यो भन्ने जस्तो देखिन्छ भने अर्कोलाई जनताको बहुदलीय जनवाद नै भनेर जान पाए हुन्थ्यो भन्ने जस्तो देखिएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो,  ‘अब यी दुवैलाई परिष्कृत गरी परिमार्जन गरी नयाँ शिराबाट अघि बढ्नु पर्छ ।’

कार्यक्रममा पार्टीका स्कुल विभाग प्रमुख तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकीकरण हुँदैन, भएन, अगाडि बढेन भनेर हल्ला चलाएर कोही उम्किन नपाउने बताउनुभयो । उहाँले अबको केही दिनभित्रैसबै मिलेर सातै प्रदेशमा अभियान सञ्चालन गरिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • MANOJ KUMAR ACHARYA

    Oct. 26, 2019, 12:55 p.m.

    लौ यो के रहेछ ! मुर्ख आफु पनि जान्दैन अरुलाई पनि मान्दैन , तर्क​, शन्का, उपहास गरी आफ्नो हाथ माथि पार्छ मुर्खको मुर्खता देखेर​ विद्वान जव चुप लाग्छ तव मुर्खले आफुलाई सफल अनि महान ठान्दछ !!

  •  0 Reply
  • dhama paudyal

    Oct. 25, 2019, 5:52 p.m.

    अरु कुरो त त्यस्तै उस्तै हो प्रचन्ड ले सुरुमै गल्ती बोलेछन्," मदन भन्डारी को बिनास र प्रचन्ड को बिकास एकै ठाउमा मिलेको ले यो पार्टी एकता संभब भएको भन्नु पर्ने मा मदन भन्डारी को पनि बकास भन्न पुगेछन । बि च रा मदन भन्डारी कहाँबाट बिकाशुनु सबै आफ्नै भनिएका मान्छे ले बिदेशिको हन्डी खाएर नारायणी मा खसाले । हं बरु मदन कि बुढिको बिकास्, मेरो अनि ओलि को भनेको भए चाही ठ्याक्कै मिल्थ्यो । साडे तीन करोड नेपालिको भाग को बिकास पनि उनिहरु को मै अल्झिएको बेला त्यसो भन्नु पर्ने थियो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया