उपचुनाव : धरानमा कांग्रेस र समाजवादी उम्मेदवारसहित प्रचारमा, नेकपाले उम्मेदवार नै छान्न सकेन

 कात्तिक १३, २०७६ बुधबार १४:१:२८ | सुमन पुरी
unn.prixa.net

सुनसरी – मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका छन् । 

यस्तै मेयर पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरेका छन् । धरानका मेयर तारा सुब्बाको निधन भएपछि आगामी १४ गते हुने चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अझै मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । गएको साउन १ गते मिर्गौलाको रोगबाट पीडित तारा सुब्बाको उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसले तिलक राईलाई धरान उपमहानगरको उम्मेदवार घोषणा गरिसकेको छ । तिलक राई यसअघिको स्थानीय तहको चुनावमा तारा सुब्बासँग पराजित हुनु भएको थियो ।

यसैगरी समाजवादी पार्टीले भने गजेन्द्र इस्वालाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने अमर इजमलाई धरानको मेयरको उम्मेदवार बनाएको छ ।

यस्तै हर्क साम्पाङ्गले स्वातन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । स्थानीय तहको चुनावमा तत्कालीन एमालेबाट उम्मेदवारी दिनु भएका तारा सुब्बा २० हजार ९ सय ७५  मत ल्याएर विजयी हुनु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका  उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नु भएको थियो ।

तत्कालीन माओवादी र तत्कालीन संघीय समाजवादी फोरमको संयुक्त प्यानलका उम्मेदवार आइन्द्रविक्रम बेघाले ११ हजार एक सय ८१ मत पाउनु भएको थियो । धरानमा ५२ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।

नेकपाले अझै उम्मेदवार छान्न सकेन

चुनावको मिति नजिकिँदै गर्दा पनि नेकपाले भने अझै धरान उपमहानगरको मेयरको उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लगाउन सकेको छैन । आन्तरिक गुट र नेताहरुमा उम्मेदवार बन्ने तीव्र इच्छाका कारण उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

तत्कालीन एमालेले यसअघिका तीन वटै चुनावमा धरानको मेयर पदमा विजय हासिल गरेको थियो । माओवादीसँग एकता भएपछि जित सुनिश्चत हुने भन्दै नेताहरु उम्मेदवार बन्नका लागि दौडधुप गरिरहेका छन् ।

धरानको मेयरको उम्मेदवारमा अहिले पूर्व मेयर मनोज मेन्याङ्वो, प्रकाश राई, विजय राई, आइन्द्रविक्रम बेघालगायतका नेताको चर्चा छ । नेकपाका नेता मुक्साहाङ मेन्याङ्वोले केही दिनमै उम्मेदवारको टुंगो लगाउने बताउनुभयो । नगर कमिटिले बुधबार उम्मेदवारको नाम सिफारिस गर्दैछ ।  बुधबार नै जिल्ला कमिटीले पनि आएका नामहरुलाई प्रदेशमा पठाउने नेकपा स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया