भारतमा तीन जना नेपाली मजदुरको हत्याका आरापी बोहरालाई हिरासतमा राख्न आदेश

 कात्तिक १५, २०७६ शुक्रबार ८:५६:५३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतको पिथौरागढमा नेपाली मजदुरहरुको हत्यामा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राखेर भारतीय प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

गएको कात्तिक ८ गते पिथौरागढमा तीन जना नेपाली मजदुरको विभत्स तरीकाले लिङ्ग काटेर हत्या गरिएको थियो । यही हत्याको आरोपमा धनबहादुर बोहरालाई जिल्ला न्यायालय पिथौरागढले हिरासतमा राख्न आदेश दिएपछि थप अनुसन्धान गर्ने भारतीय प्रहरीले जनाएको छ । बिहीबार आरोपित बोहरालाई प्रहरीले न्यायालयमा पेश गरी थप अनुसन्धानको लागी म्याद थप्न आग्रह गरेकोमा १४ दिन म्याद थपिएको हो ।

भारतको पिथौरागढको मडधुरामा गएको कात्तिक ८ गते पुुर्चौंडी नगरपालिका– ५ दहतोलीका हरिश बोहरा, उहाँका भाइ बीरा बोहरा र पुर्चौंडी नगरपालिका वडा.न ४ भटनाका कासी बोहराको विभत्स तरीकाले लिंग काटी हत्या भएको थियो । यो हत्यामा संलग्न रहेको भनिएका बैतडीको पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले पनि आफूले नै तीन नेपाली मजदुरको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

घटना भएपछि भारतीय प्रहरीले कार्तिक ११ गते पिथौरागढबाट करिब १२० किलोमिटर टाढा रहेको मन्सुयारी गाँउबाट धनबहादुर बोहरालाई नियन्त्रणमा लिई न्यायालयमा पेश गरेको थियो । न्यायालयबाट अनुमति लिएपछि अहिले बोहरामाथि थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया