मंसिर १४ गते हुन लागेकाे उपचुनावमा कुन ठाउँ किन रिक्त छ ?

 कात्तिक १५, २०७६ शुक्रबार १८:४४:३५ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - आउँदो मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेश सभा तथा विभिन्न पालिकामा रिक्त रहेका पदका लागि उपचुनाव हुँदैछ । त्यसका लागि राजनीतिक दल तथा निर्वाचन आयोगले आ-आफ्नो तयारी अघि बढाइरहेका छन् । 

निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि चुनावका दिनसम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ । दलहरु पनि रिक्त रहेका स्थानमा आफ्नो तर्फबाट उठाउने उम्मेदवार चयन गर्ने प्रक्रियामा छन् । केही ठाउँमा उम्मेदवार टुंगो लगाउने अन्तिम तयारी दलहरुले गरिरहेका छन् । केही ठाउँमा भने उम्मेदवारको नाम सिफारिस भैसकेको छ । 

३७ जिल्लामा १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४६ पालिकाका कार्यकारी पदका लागि उपचुनाव हुन लागेको हो । पालिकामध्ये एक उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र अरु गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्षको पद रिक्त छ ।

२०७४ मा भएको स्थानीय तह, प्रदेश तह तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि विभिन्न कारणले ५० स्थानमा कार्यकारी पद रिक्त हुन गएको हो । रिक्त रहेका ठाउँमा हुने चुनावका लागि यही २१ गतेदेखि मनोनयन दर्ता गर्नु पर्नेछ ।

२१ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुने ठाउँमा उम्मेदवारले आफ्नो नाम दर्ता गराउने समय निर्धारण गरिएको छ । यस्तै पालिकाको चुनाव हुने ठाउँमा भने उम्मेदवारले २७ गते मनोनयन दर्ता गराउनु पर्ने समय निर्वाचन आयोगले तोकेको छ । 

कुन ठाउँ किन रिक्त ?

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै अहिले त्यो ठाउँ प्रतिनिधिविहीन छ ।

तत्कालीन एमालेको तर्फबाट वाम उम्मेद्वारको रुपमा अधिकारीले चुनाव जित्नु भएको थियो । लगातार तेस्रो पटक चुनाव जित्दै मन्त्री बन्नुभएका अधिकारीको निधनसँगै रिक्त रहेको कास्की २ मा उपचुनाव हुन लागेको हो ।

यस्तै प्रदेशसभातर्फ भक्तपुर, बाग्लुङ र दाङका एक–एक स्थान रिक्त छ । भक्तपुर १ (क) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि यो ठाउँ पनि जनप्रतिनिधिविहीन बनेको छ । लामिछाने तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । लामिछानेको २०७५ वैशाख ३१ गते मस्तिष्क घातका कारण निधन भएको थियो । 

यस्तै  बाग्लुङ क्षेत्र नम्बर २ (ख) का टेकबहादुर घर्तीको निधन भएपछि यो ठाउँ पनि रिक्त छ । जनमोर्चाको तर्फबाट विजयी हुनुुभएका घर्तीको गएको मंसिर २७ गते दिल्ली स्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । घर्तीको निधनपछि रिक्त रहेको ठाउँमा पनि उपचुनाव हुन लागेको हो । 

यस्तै दाङ क्षेत्र नम्बर ३ (ख) का उत्तरकुमार ओलीको निधन भएपछि अहिले यो ठाउँ पनि जनप्रतिनिधिविहीन छ । माघ २४ गते आफैले चलाएको कार दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा फागुन १० गते निधन भएको थियो । तत्कालीन एमालेबाट निर्वाचित भएका ओलीको निधनसँगैे यो ठाउँ पनि रिक्त छ ।  

पालिकामा कहाँ-कहाँ ?

सुनसरीको धरान उपमहानगरपालिका २०७५ साउन १ गतेदेखि प्रमुखविहीन छ । उपमहानगरपालिका प्रमुख तारा सुब्बाको उपचारको क्रममा साउन १ गते निधन भएपछि एक वर्षभन्दा बढी समयदेखि उपमहानगर उपप्रमुखकै भरमा चलिरहेको छ । तत्कालीन एमालेको तर्फबाट चुनाव जितेका सुब्बाको निधनपछि रिक्त रहेको ठाउँमा अहिले उपचुनाव हुन लागेको हो । 

यस्तै संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङ, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको निधनका कारण ती स्थान पनि रिक्त छन् ।

कटुवालको चुनाव भएकै वर्ष २०७४ माघ १ गतेका दिन संखुवासभाकै भोटखोला गाउँपालिकास्थित पाथीभराको समाटार भीरमा जिप दुर्घटना हुँदा निधन भएको हो । तत्कालिन एमालेको तर्फबाट चुनाव जितेका कटुवालको निधनसँगै झण्डै दुई वर्षदेखि गाउँपालिका अध्यक्षविहिन बन्दै आएको छ । 

यस्तै फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष नेम्वाङको गएको माघ २६ गते निधन भएको थियो । उहाँ गाउँपालिकाको वडा नम्वर ५ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर कुर्सीमा बसे लगत्तै मुर्छा पर्नु भएको थियो ।

कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षीय नेम्वाङको निधनसँगै यो गाउँपालिका पनि उपाध्यक्षकै भरमा चलिरहेको छ । नेपाली कांग्रेसको तर्फबाट उहाँले अध्यक्षमा चुनाव जित्नुभएको थियो । 

यस्तै  गएकाे असार ३ गते कर्णाली नदीमा  जीप दुर्घटना हुँदा हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमाल काे ज्यान गएकाे थियाे  । कर्णालीमा जीप खसेको २२ दिनपछि मात्रै उहाँको शव भेटिएको थियो । हमाल कांग्रेसको तर्फबाट उपाध्यक्षमा विजयी हुनुभएको थियो । उहाँको निधनपछि रिक्त रहेको यो ठाउँमा पनि आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।  

४१ वडाध्यक्षमध्ये धेरैको मृत्यु भएका कारण ती स्थान पनि रिक्त छ । केहीमा भने अध्यक्षहरु जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि ठाउँ रिक्त हुँदै आएको छ ।  निर्वाचन आयोगले रिक्त रहेका ठाउँहरुको पहिचान गरी मंसिर १४ गते उपचुनाव गर्न लागेको हो । 

अन्तिम अपडेट: चैत २७, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया