कपिलवस्तुकाे कृष्णनगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

 कात्तिक १६, २०७६ शनिबार १०:५५:३४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – स्थानीय प्रशासनले कृष्णनगर बजार क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि लगाएको कर्फयु शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।

बुधबार लक्ष्मी पूजाको मुर्ति बिसर्जनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि भएको झडप तथा भिडन्त नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । कृष्णनगर बजारको अवस्था सामान्य गएको र प्रदर्शनकारीहरुसँग पनि १० बुँदे सहमति भएपछि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 
जिल्ला प्रशासन कायालयले एक सूचना जारी गरी शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको जानकारी दिएको छ ।

बिहीबार दिउँसो सुरक्षाकर्मीको गोलीबाट कृष्णनगर बजारका एक स्थानीय युवा सुरज पाण्डेयको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको थियो । मृतक परिवारलाई उचित क्षतिपूर्तिका लागि सिफारिस गर्ने, घटनामा मुख्य दोषीउपर कारबाही गर्नेलगायतका बुँदामा सहमति भएपछि कृष्णनगर क्षेत्रको अवस्था सामान्य बन्दै गएको मधेस मानव अधिकार गृहका अधिकारकर्मी वसन्त बञ्जाडेले बताउनुभयो । मृतक पाण्डेयको कृष्णनगरस्थित सुरही खोलामा शुक्रबार दाह संस्कार गरिएको छ ।

प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता, प्रदर्शनकारीहरुका प्रतिनिधि र स्थानीय प्रशासनबीच भएको १० बुँदे सहमतिपछि मृतकका परिवारले पाण्डेयको शव बुझेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया