गरिमाले दिएको पीडा: १३ सय किसान क्षतिपूर्तिको पर्खाइमा

 कात्तिक १६, २०७६ शनिबार २१:१४:५० | हेमराज शर्मा
unn.prixa.net

दाङ - यो वर्ष गरिमा जातको धानमा बाला नलागेपछि दाङमा तीन सय बढी किसानहरु पीडित भएका छन् ।

दाङको देउखुरीका चार वटै पालिकाका विभिन्न स्थानमा लगाएएको गरिमा जातको धानमा बाला नलागेपछि ३ सय १९ जना किसानहरु पिडित बनेका हुन् । कृषि ज्ञान केन्द्र दाङले किसानहरुको नामावली सहित सबै बिबरणहरु संकलन गरेको छ ।

चार वटा पालिकामध्ये सबैभन्दा धेरै लमही नगरपालिकाका किसानहरु मर्कामा परेका छन् । लमही नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ९, राप्ती गाउँपालिकाको वडा नम्बर १, ६, ७ र ८, गढवा गाउँपालिकाको वडा नम्बर ४ र ५ तथा राजपुर गाउँपालिकाको वडा नम्बर-२, बेलामा लगाएको गरिमा जातकाे धानमा बाला नलागेको निवेदन आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीले जानकारी दिनुभयो ।

त्यस क्षेत्रका तीन सय १९ जना किसानले १ हजार ५ सय ९७ किलो गरिमा धानको बीउ खरिद गरेका थिए । चार पालिकाका १३ वडाको ३ हजार १ सय ९४ कठ्ठामा त्याे धान लगाइएको थियो । गरिमा धानको एक किलो बीउले २ कठ्ठामा रोपाइँ हुने गरेको छ । 

दोधारमा किसान

देउखुरीका किसान छविलाल कोपिलाले १६ कठ्ठामा गरिमा जातको धान लगाउनुभएको छ । ११ कठ्ठाको धानमा अलिअलि बाला लागेको छ भने ५ कठ्ठामा बोट मात्रै छ । ‘सिँचाई हुने ठाउँमा २० प्रतिशत जति दाना आउँछ कि भन्ने छ, पानी नलाग्ने ठाउँमा त पराल मात्रै हुने देखियो’, उहाँले भन्नुभयो, ‘काटाैँ क्षतिपूर्ति पाइँदैन कि भन्ने छ, नकाटाैँ फल छैन, दोधारमा छौ, प्रमाणकै लागि भए पनि किसानहरुले नफलेको धान काट्ने आँट गरेका छैनन् ।’

अन्य जातको धान लगाएका किसानहरुले धमाधम धान काट्दै गर्दा गरिमा धान रोपेका किसानहरुले क्षतिपूर्तिको आशामा खाली बोट हेरेर बसेका स्थानीयकाे भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया