दिल्लीमा वायु प्रदूषणकाे अवस्था गम्भीर : निर्माण कार्यमा प्रतिबन्ध, विद्यालय बन्द

 कात्तिक १७, २०७६ आइतबार ११:५३:४२ | एजेन्सी
unn.prixa.net

भारतको राजधानी दिल्लीलगायत राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) का कैयौ इलाकामा आइतबार हल्का वर्षा भयो । वर्षापछि पनि वायु प्रदूषण (हावाकाे गुणस्तर सूचकांक मानक) बाट मानिसहरुले राहत पाउन सकेका छैनन् । 

दिल्लीको कैयौ इलाकामा एयर क्वालिटी इन्डेक्स (हावाकाे गुणस्तर मापन- एक्यूआई) झण्डै पाँच सय नजिक पुगेको छ । बवानामा एक्यूआई ४९२, आईटीओमा ४८७ र अशोक विहारमा ४८२ मापन गरिएको छ । यो परिस्थिति गम्भीर मानिन्छ । 

मौसम विभागकाअनुसार ‘आउँदो २४ घण्टासम्म बादल छाइरहनेछ । कहीँ कहीँ हल्का वर्षाको पनि सम्भावना रहेको छ । १५ देखि २० किमी प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको छ ।’ विशेषज्ञहरुले घरबाट बाहिर निस्कँदा वायु प्रदूषणबाट बच्नका लागि मास्क लगाउन सुझाव दिएका छन् । 

हावाकाे गुणस्तर सूचकांक मानक

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को ०-५० को बीच ‘राम्रो’, ५१-१०० को बीच ‘सन्तोषजनक’, १०१-२०० को बीच ‘सामान्य’, २०१-३०० को बीच ‘खराब’, ३०१-४०० को बीच ‘निकै खराब’ र ४०१-५०० को बीच ‘गम्भीर’ मानिन्छ ।

त्यस्तै हावामा पीएम १० को स्तर १०० र पीएम २ दशमलव ५ ६० माइक्रोग्राम प्रतिघन मिटरभन्दा बढी हुनु हुँदैन ।  

दिल्लीमा जनस्वास्थ्य संकटकाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार छिमेकी राज्यमा पराल जलाएपछि बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै दिल्लीको सबै स्कुल ५ नोभेम्बरसम्म बन्द राख्न आदेश दिएका छन् । त्यस्तै सर्वाेच्च अदालतको प्यानलले प्रदुषणको स्तर निकै गम्भीर भएपछि दिल्ली एनसीआरमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । साथै ५ नोभेम्बरसम्म कुनै पनि प्रकारका निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ । जाडोको मौसमा पटाका जलाउन पनि पूर्णरुपमा रोक लगाइनेछ । 

४ देखि १५ नोभेम्बरसम्म जोर-बिजोर प्रणाली लागू हुने 

वायु प्रदुषणमा लगाम लगाउनका लागि दिल्लीमा अरविन्द केजरीवालको नेतृत्वको सरकारले ४ देखि १५ नोभेम्बरसम्म जोर-बिजोर योजना लागू गर्ने घोषणा गरेको छ । बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै दिल्लीबासीहरुले सास लिन समस्या रहेको एलर्जीको गुनासो गरेका छन् । भर्खरमात्रै केजरीवालले निजी र सरकारी स्कुलमा ५० लाखभन्दा बढी मास्क बाँडेका थिए ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया