म्याग्दीको बिममा बस दुर्घटना, चार जनाको मृत्यु, २८ जना घाइते

 कात्तिक १८, २०७६ सोमबार ७:५:५७ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा हुँदा चार जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । 

दरबाङबाट छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ज्यान गुमाउनेमा गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीको ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन, बिम गाउँका ९ वर्षीय बालक रवि जुग्जाली र वडाध्यक्ष सुविन जुग्जालीको छोरी ११ वर्षीया आयुसा जुग्जाली रहेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रामप्रसाद पाण्डले जानकारी दिनुभयो ।

त्यस्तै घाइते हुनेहरुमा मालिका–७ बिमका ६० वर्षीय राजमान दर्जी, ५३ वर्षीय हुमबहादुर जुग्जाली, ३८ वर्षीय पलप्रसाद जुग्जाली, २६ वर्षीया नरदेवी परियार, बेनी नगरपालिका–९, घतानका १६ वर्षीय बिसन खत्री, बेनपा–४, राक्सेका १७ वर्षीय गौरव पौडेल र १९ वर्षीय प्रमिस पौडेल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । 

त्यसैगरी बागलुङ ताराखोला गाउँपालिका–५ का १७ वर्षीय विजय कँडेल, मालिका–७ बिमका २६ वर्षीया दिलु शेरपुञ्जा, मालिका–६ दरबाङकी ६ वर्षीया कृष्टिना जुग्जाली, ६१ वर्षीया तनदेवी जुग्जाली, ६० वर्षीया चन्द्रकली दर्जी, ३८ वर्षीया पलदेवी जुग्जाली, सोही ठाउँका अन्दाजी १७÷१८ वर्षीय शुरेश जुग्जाली र ३१ वर्षीया लिला जुग्जाली, धवलागिरी गाउँपालिका–३ मुना दरका १८ वर्षीया रिलमाया बुढा, बेनी–३ भकिम्लीका ३५ वर्षीय केशव शर्मा न्युरे र मंगला–५ छिस्बाङका २२ वर्षीया रमिला खत्री रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

दुर्घटनामा प्रहरीले २८ जना घाइते भएको जानकारी दिए पनि घाइते १८ जनाको मात्र परिचय खुलेको छ । 

घाइतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको छ भने गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि बेनी अस्पताल पठाइएको दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । सवारीचालक फरार रहेकाले दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ । बसमा कति जना सवार थिए भन्ने अझै एकिन भैसकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया