पाँचखालमा खेतीयोग्य जमिन प्लटिङ गर्न ‘प्रतिबन्ध’

 कात्तिक १९, २०७६ मंगलबार १२:३९:५५ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक -  ‘पाँचखाल नगर कृषि शहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले पाँचखालका खेतीयोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध लगाएको छ ।

कृषि र पशुपालनका क्षेत्रमा असर पुगेको भन्दै इँटा उद्योगलाई समेत वातावरणमैत्री बनाउन आग्रह गरेको छ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा वातावरणमैत्री नभए इँटा उद्योग चलाउन नदिने नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो । ‘मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेका छौँ, पाँचखाल उपत्यकाको वातावरण स्वच्छ बनाउन वातावरण ऐन पनि पास गरिसकेका छौँ, त्यहीअनुसार उद्योग सञ्चालन गर्न अनुरोध गरिसकेका छौँ, त्यहीअनुसार नभए चल्न दिँदैनौँ’, मेयर खरेलले भन्नुभयो ।

पाँचखालका वडा नम्बर ७, ८, ९ र १२ मा मापदण्डविपरीतका हाल सात इँटा उद्योग र एक प्लाइउड कारखाना सञ्चालनमा छन् । प्लाइउड कारखाना भने नगरले बन्द गराइसकेको छ । थप १५ उद्योग स्थापनाका लागि प्रस्ताव आउँदा आफूले वातावरणमैत्रीबिना सञ्चालन गर्न अनुमति नदिएको मेयर खरेलले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतको दोहन तथा वातावरण बिगार्ने कुनै पनि उद्योग, कलकारखाना स्थापना हुन नदिने बताउनुभयो ।

कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले चालू आर्थिक वर्षका लागि प्रिबेसिक सिड आलु दाना वितरण, घरेलु तथा जैविक विषादी उत्पादन तथा भकारो सुधार, वडा नं ७, ८, ९, १०, ११, १३ मा मौरी घार तथा फलफूल बिरुवा वितरण मौरीको पकेट क्षेत्र, एकल महिला सीपमूलक कार्यक्रम सञ्चालन, दिगो विद्यालय वातावरण शिक्षा कार्यक्रम, मौलिक बाजा संरक्षण कार्यक्रम, लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन, लभ ग्रीन नेपालको साझेदारीमा दिगो कृषि कार्यक्रम सञ्चालन गरेको नगरले जनाएको छ ।

नगरपालिकाले स्थानीय तह स्वमूल्याङ्कनको नमुना नगरपालिकामा परि उत्कृष्ट अंक प्राप्त (८६ अंक) गरेको, सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता सम्पन्न गरी काम सुरू गरेको, सेजका लागि कम्पाउन्ड निर्माण, महिला औद्योगिक ग्राम स्थापना गर्नका लागि सम्झौता, राजस्व तथा जिन्सी सफ्टवेयर खरिद, एसईई दिने विद्यार्थीहरूका लागि कोचिङ कक्षा सञ्चालन, खेलकुद तथा अतिरिक्त क्रियाकलापका कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया