गाडी तथा माेटरसाइकलकाे ब्याट्री किन्दा र किनेपछि ध्यान दिनुपर्ने कुराहरु

 कात्तिक १९, २०७६ मंगलबार २०:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - गाडी या मोटरसाइकलमा प्रयोग हुने पार्टपुजामा ब्याट्रीलाई निकै महत्वपूर्ण मानिन्छ । गाडी वा मोटरसाइकल स्टार्ट गर्नदेखि बत्ती र संकेत बत्तीहरु बाल्न, एसी चलाउन गाडीका विभिन्न पार्टहरु चलाउनको लागि ब्याट्रीको प्रयोग गरिन्छ ।

गाडी चल्नको लागि चाहिने पहिलो कुरा नै ब्याटरी भएकोले ब्याट्री किन्दा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । 

गुणस्तर

ब्याट्री किन्दा सबैभन्दा पहिले ब्याट्रीको गुणस्तरलाई ध्यान दिनुपर्छ । त्यो ब्याट्री कुन कम्पनीको हो र यसलाई कसले बेच्दैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । ब्याट्री तोकिएको समयभन्दा पहिले बिग्रिएमा वा केही समस्या आएमा ग्राहकले ढुक्कसँग समाधान गराउन सकिने विश्वासिलो  ठाँउमा गएर मात्र ब्याट्री किन्नु राम्रो हुन्छ ।

आफूले के कामका लागि किन्न लागेको हा निर्क्याैल गरेर त्यसका लागि उपयुक्त हुने क्षमताको ब्याट्री किन्नुपर्दछ । ब्याट्री किनेपछि वारेन्टी , ग्यारेन्टीको व्यवस्था छ कि छैन, केही समस्या आए समाधानका लागि कुन–कुन स्थानमा सम्पर्क गर्न सकिन्छ भन्ने जस्ता जानकारी लिनुपर्दछ ।

अर्काे महत्वपूर्ण कुरा भनेको ब्याट्रीको टिकाउपना हो । यसबारेमा कम्पनीसँग वा अरु प्रयाेगकर्ताहरुकाे अनुभव बुझेर किन्नु उपयुक्त हुन्छ ।

यी सबै कुरामा ध्यान दिँदैमा मात्र ब्याट्री राम्रो हुन्छ भन्ने होइन । किनेपछि यसको हेरचाह पनि उत्तिकै गर्नुपर्ने हुन्छ । ब्याट्रीको हेरचाह गर्दा बेला–बेलामा ब्याट्रीको अवस्था के कस्तो छ भनेर जाँच गरिरहनु पर्छ ।

संकेत

धेरै ब्याट्रीहरुमा इन्डिकेटरहरु हुने गर्छन्, जसमा हरियो, रातो र सेतो रङ हुन्छ । यदि तपाइँको ब्याट्रीको इन्डिकेटरमा हरियो रङ छ भने ब्याट्री ठिक छ भन्ने संकेत गर्छ ।

ब्याट्रीको इन्डिकेटरमा सेतो छ भने डिस्टिल्ड वाटर थप्नुपर्ने र रातो रङको इन्डिकेटरले ब्याट्रीमा चार्ज छैन, डिस्चार्ज भयो भन्ने जनाउँछ ।त्यसैले ब्याट्रीमा सधैँ यी संकेतहरुकाे जाँच गरिराख्नु पर्दछ ।

समय समयमा ब्याट्रीको तार जोडिएको ठाँउमा सफा गर्ने र त्यो ठाँउमा जेल वा ग्रिज लगाएर राख्नुपर्दछ । किनकी यसले तार जोडिएको ठाँउमा स्पार्क अथवा झिल्काहरु निस्कन दिँदैन । तार जोडिएको ठाँउमा ढुसीजस्तो पदार्थ हुनसक्ने र सर्ट सर्किट हुनसक्नेजस्ता खतराबाट यसले बचाउँछ ।

(सिप्रदी प्रालिको एक्साइड अपरेसनका जनरल म्यानेजर सुरेशकुमार तिवारीसँग कार्यक्रम सडक र सवारीमा गरिएको अन्तरवार्तामा आधारित)

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया