विराटनगर विमानस्थल विस्तार अलमलमा, डीपीआर स्वीकृत गर्ने मन्त्रीको बाचा कार्यान्वयन भएन

 कात्तिक २४, २०७६ आइतबार १३:३:४७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर विमानस्थलको पश्चिमी क्षेत्रका ७० वर्षीय रतनलाल चौधरीलाई विमानस्थलले आफ्नो घर र जमिन कहिले लिने हो भन्ने चिन्ता छ । विमानस्थल विस्तार हुँदा आफ्नो घर र जमिन हराउने चिन्ता भए पनि आफ्नो ठाउँमा विकास हुने कुराले उहाँलाई उत्साहित पनि बनाएको छ ।

रतनलाल जस्तै स्थानीय उर्मीला चौधरी पनि विमानस्थल विस्तारले आफ्नो ठाउँको विकासमा सहयोग पुग्ने भएकाले खुशी भएको बताउनुहुन्छ । हाम्रो जमिन गए पनि विमानस्थल विस्तार छिटो होस् भन्ने उहाँहरुको चाहाना छ ।

विराटनगर विमानस्थल विस्तारको लागि २५ सय मिटर वा ३ हजार मिटर बढाउने डीपीआरमा उल्लेख छ । तर अहिलेसम्म यति नै क्षेत्रफल विस्तार गरिने भन्नेबारे उल्लेख भएको छैन । अहिले १५ सय मिटर रहेको विमानस्थल २५ सय मिटर बनाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नु पर्नेछ भने तीन हजार मिटर बनाउँदा २ सय ५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने छ । यो जग्गा अधिग्रहण गर्दा मुआब्जाका लागि मात्र ४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुनेछ ।

विराटनगरबाट केही समय अगाडि गएको दबाब समूहलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले असोज महिनाभित्र नै डीपीआर स्वीकृत गर्ने बचन दिनुभएको थियो । तर डीपीआर अझै स्वीकृत भइसकेको छैन ।

२५ सय मिटर विस्तारका लागि वातावरणीय दृष्टिकोणले समस्या देखिएको छैन । यसका लागि बस्ती स्थानान्तरण गरेर १२५ बिघा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । तर तीन हजार मिटर विस्तार योजनाका लागि भने केशलिया खोला डाइभर्सन गर्नुपर्ने चुनौती रहेको छ । 

तीन हजार मिटरसम्म विस्तार गर्ने योजना अगाडि बढाउन पश्चिम–उत्तरतर्फको २ सय ५० बिघा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । विमानस्थलदेखि पूर्वतर्फ जमिन अधिग्रहण गर्नसक्ने अवस्था छैन । 

पूर्वतर्फ बनेका अग्ला संरचनाले वायुयान उडान र अवतरणमा जोखिम बढाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले साढे चार बिघा आठ कट्ठा जमिन यस अगाडि अधिग्रहण गरिसकेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्दा अन्तर्राष्ट्रिय हवाई सेवाको मापदण्डअनुसार चारैतर्फको दूरीसमेत सन्तुलित गर्नुपर्ने हुन्छ ।

विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि डीपीआर बनाउने काम पनि पूरा भइसकेको छ । एक वर्ष अगाडि मात्र साढे चार विगाहा जग्गा अधिग्रहण गरेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल विस्तार भएमा  पश्चिमको केशल्या खोलासम्म करिब १५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने छ । तर त्यसको लागि मन्त्रिपरिषदको बैठकबाट नै स्वीकृत भएर आउनु पर्ने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौला बताउनुहुन्छ । 

विराटनगर विमानस्थल विस्तारको कुरा उठेको धेरै भइसकेको छ । तर सरकारको तर्फबाट स्वीकृत गरेर काम अगाडि बढाउन ढिला भइरहेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया