प्रधानमन्त्री ओलीकाे प्रेस सल्लाहकारमा सूर्य थापा

 कात्तिक २९, २०७६ शुक्रबार २२:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त हुनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डाक्टर कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो । 

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्व सम्पादकसमेत हुनुहुन्छ । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार नै प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको थियाे ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया