एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालद्वारा हङकङ ४० रनले पराजित

 कात्तिक ३०, २०७६ शनिबार १७:३७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा भारतको यू-२३ सँग पराजित भएको नेपालले आज हङकङलाई पराजित गरेको हो ।

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको छ ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ १७७ रनमा अल आउट भयो । नेपालको जितमा करण केसी र अविनास बोहोराले तीन-तीन विकेट लिँदा सुशन भारीले २ विकेट हात पारे ।

हङकङकालागि किन्चित साहले ५३ तथा हारोन अर्सदले २६ रन बनाए । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा दुई सय १७ रन बनायो । नेपालका लागि अनुभवी खेलाडी शरद भेषवाकरले उत्कृष्ट पारी खेले । जसमा उनले १ सय ३९ बलमा नौ चौका प्रहार गर्दै ८९ रन बनाए ।

खराब सुरुवात गरेको नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा नै पेभेलियन फर्किए । त्यसको लगत्तै कुशल भुर्तेलपनि एक रनमा आउट भएपछि नेपालले तीन रनमा दोस्रो विकेट गुमायो । त्यसपछि शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीबीच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो ।

जसमा ऐरी ३७ रनमा आउट हुँदा नेपालको स्कोर ८६ रन थियो । त्यसपछि शरद र आरिफ शेखबीच पनि अर्को अर्धशतकीय साझेदारी भएको थियो । आरिफ ४२ रनमा आउट हुँदा नेपालले एक सय ६० रनमा चार विकेट खेर फाल्यो ।

तर त्यसपछि भने नेपालका खेलाडीबीच राम्रो साझेदारी हुन सकेन । अधिल्लो खेलमा अर्धशतक बनाएका पवन सर्राफले खाता खोल्न सकेनन् भने विनोद भण्डारी १५, करण केसी ७ तथा सुसन भारी ६ रनमा आउट भए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया