फिफा विश्वकप एसियाली छनोट : कुवेतविरुद्ध नेपालको खेल आज

 मंसिर ३, २०७६ मंगलबार १०:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल मंगलबार हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पाैने तीन बजे सुरु हुनेछ ।

खेलअघि पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टिमका प्रशिक्षक योहान कलिनले कुवेतसँग अंक खोस्ने दाबी गरेका छन् ।

दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको घरेलु खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल्न लागेको हो । खेलका लागि भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित चार जना मुख्य खेलाडी नाइट क्लबमा गएको पाइएपछि उनीहरु बर्खास्तमा परेका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको छ ।

छनोट चरणमा कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंकसहित तालिकाको चौथो स्थानमा छ । शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंकसहित शीर्षस्थानमा छ ।

चाइनिज ताइपेईलाई २–० ले हराएपछि नेपालले खेलेको तीनवटै खेलमा पराजय भोगेको छ । नेपाल अष्ट्रेलियासँगग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

कुवेतविरुद्धको खेलको तयारी स्वरुप म्यानमारसँगको मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले नै हारेको थियो ।

मंगलबार नै जोर्डन र चाइनिज ताइपेई पनि खेल्देछन् । यो खेल जोर्डनमा नेपाली समय अनुसार साँझ पाैने आठ बजे हुनेछ । चार खेल सकिँदा चाइनिज ताइपेई जितविहीन छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया