निगमको ट्याङ्कर अपहरण, सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

 मंसिर ४, २०७६ बुधबार ७:४०:१२ | रासस

काठमाण्डौ – नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर त्यही दिन राति सिरहाबाट बेपत्ता भएको थियो ।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए ।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको यो ट्याङ्कर पहिचान नखुलेको समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया