अनाथ बालबालिकाकाे जिम्मा सरकारले लिन्छ, बाल गृहकाे नाममा ठगेर खानेलाई कारबाही गरिन्छ : मन्त्री गुरुङ

 मंसिर ६, २०७६ शुक्रबार २०:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौै – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ । 

मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाइ दिन आएका झण्डै ५० जना अनाथ बालबालिकासँग सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो । 

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउनु भयो । त्यसका लागि उहाँले बालबालिकासम्बन्धी ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले बाल गृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कारबाही गर्ने पनि बताउनुभयो ।

मन्त्री गुरुङले काठमाण्डौको गोकर्णमा रहेको संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यसअघि पनि खाद्यान्न तथा लत्ताकपडालगायतका वस्तुहरुको सहयोग गर्दै आउनुभएको थियो । उहाँले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताउनु भयो । 

संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आउनु भएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

त्यसअवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाइ दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । उहाँले बिहीबार पदभार ग्रहण गर्दै बाल विवाह अन्त्यका लागि दुई महिनाभित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्वीकृत गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया