विराटनगरमा सरकारी मोटरसाइकलकाे दुरुपयोग: चार जना चढेर सपिङ मल

 मंसिर ६, २०७६ शुक्रबार १८:५५:३८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरको व्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाइकल अघि जाँदै थियो । त्यो मोटरसाइकलमा चालकसहित चार जना यात्रु थिए । 

अघि गुड्दै गरेको मोटरसाइकलको नम्बर प्लेट हेर्दा थाहा भयो, को १ ब १५७७ नम्बरको सरकारी मोटरसाइकल रहेछ । सरकारी सवारी साधन, त्यो पनि कार्यालय समय बाहिर यसरी चार जना बोकेर हिँड्नु कति जायज होला भन्ने लाग्यो र फोटो खिचियो । 

मैले ती मोटरसाइकल चालकसँग सम्पर्क गर्ने प्रयास गरेँ तर उनी केही पनि नबोली सेन्ट्रल मलको पार्किङ स्थलमा मोटरसाइकल पार्किङ गर्नतर्फ लागे ।

मोटरसाइकलमा बस्ने अन्य व्यक्ति स–साना भए पनि चलाउने चालक को हुन् र कुन कार्यालयमा काम गर्छन् भनेर जान्ने इच्छा थियो तर उनको मुख ढाकिएकाले चिन्ने मौका भने मिलेन । उनीसँगै भित्र प्रवेश गर्न खोज्दा भित्रबाट अर्को सवारी बाहिरिँदै गरेकोले उनीसँगै भित्र प्रवेश गर्न पाइएन । सेन्ट्रल मलको अगाडिको भागमा सडक कालोपत्रे भएकोले पश्चिमको ढाेकामात्र खोलिएको थियो ।

पछिल्लो समय यसैगरी सरकारी सवारी साधनहरु दुरुपयोग हुँदै आएका छन् । कतिपय अवस्थामा सरकारी सवारी साधनले तस्करीको काम गरिरहेको समेत फेला परेको छ । 

केही दिनअघि मात्र विराटनगर भन्सार कार्यालयले सरकारी गाडीले भारतबाट सामान ओसारपसार गरेको तथा तस्करी गरेको पाइएपछि नियन्त्रणमा लिएको थियो । कतिपय वडाध्यक्षहरुले सरकारी नम्बर प्लेटको गाडीलाई रातो नम्बर प्लेटको बनाएर समेत चलाउने गरेको पाइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया