आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
ललितपुर - उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालत काठमाण्डौलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो ।
निवर्तमान सभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाउँ भन्ने आग्रहसहित निवेदन बिहीबार दर्ता गरेका थिए । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुनाबाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।
जिल्ला अदालत काठमाण्डौका न्यायाधीश सुदर्शनराज पाण्डेले गएको कात्तिक १८ गते महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका थुनामा पठाउने आदेश गरेको थियो । आदेशसँगै महरा डिल्लीबजार कारागारमा छन् ।
गएको असोज १२ गते बलात्कारको प्रयास गरेको आरोपमा किटानी जाहेरी परेपछि महरा पक्राउ परेका थिए ।