नेपाल र भारतका अधिकारीबीच समन्वय बैठक सम्पन्न

 मंसिर ६, २०७६ शुक्रबार २०:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र भारतका अधिकारीहरु सम्मीलित समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ ।

बुधबारदेखि पोखरामा भएको नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु तथा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

तीन दिनसम्म चलेकाे बैठकमा भारतका तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता थियो । 

नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो ।

दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकायबीच सम्बन्ध विस्तार गर्न मद्दत पुग्नुका साथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि फलदायी हुने विश्वास लिइएको छ ।

बैठकमा दुवै देशका अधिकारीहरुले सुझाव र अनुभव आदान प्रदान गरेका थिए ।

बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सूचना आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिलित बैठकको आयोजना गर्ने निर्णय भएको छ । 

यसैगरी विभिन्न प्रकारका चाडपर्वमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति पनि भएको छ ।

सीमा व्यवस्थापनलाई मजवुद बना‍इराख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको त्यस बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोक्दै आएकोमा त्यसलाई निरन्तरता दिइने निर्णय पनि भएको छ ।

दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने  तथा अन्तर्देशीय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ । 

यसैगरी बैठकमा तेस्राे देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने सहमति गरिएकाे छ ।

बैठकले पाँचौ नेपाल-भारत समन्वय बैठक आउँदाे वर्ष भारतमा हुने निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया