६० वर्षपछि यसरी ढल्यो धरानमा कम्युनिष्टको विरासत

 मंसिर १६, २०७६ सोमबार ११:३२:४० | सुमन पुरी
unn.prixa.net

सुनसरी - २०१७ सालदेखिको कम्युनिष्टको एकछत्र राज तोड्दै धरान उपमहानगरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई मेयरमा विजयी हुनु भएको छ ।

धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रच्नु भएको छ ।

बहुदलपछिको भएको पहिलो स्थानीय चुनावमा नेकपा एमालेका ध्यानबहादुर राई विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका गोविन्द तुम्वालाई पराजित गर्नु भएको थियो । पहिलो स्थानीय चुनावमा पराजित तुम्बा प्रदेश प्रमुख समेत बन्नुभयो । दोस्रो स्थानीय चुनावमा पनि नेकपा एमालेकै मनोज मेन्यांवो विजयी हुनु भएको थियो ।

उहाँले नेपाली कांग्रेसका राजबिमल श्रेष्ठलाई पराजित गर्नु भयो । अघिल्लो स्थानीय चुनावमा पनि नेकपा एमालेकै तारा सुब्बा विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका तिलक राईलाई पराजित गर्नु भएको थियो । यस पटक भने उही तिलक राईले माओवादी सहितको नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्नु भएको  छ ।

बहुदलअघि पनि कम्युनिष्ट समर्थितहरुकै धरानमा जीत हँुदै आएको थियो । बहुदल स्थापनाअघि धरानमा गोबिन्द मोत्तान, कष्णकुमार राई बम देवान र ध्यानबहादुर राईले चुनाव जित्नु भएको थियो ।

प्रतिनिधिसभा र संविधानसभामा पनि कम्युनिष्ट

२०१७ सालपछि स्थानीय निकाय र स्थानीय तहको चुनावमा मात्रै होइन प्रतिनधिसभाको चुनावमा समेत धरानमा कम्युनिष्टकै जित हुँदै आएको थियो । निर्वाचन क्षेत्र नम्बर एकअन्तर्गतको धरानमा बहुदलपछिको पहिलो प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका मनमोहन अधिकारी विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका भेखबहादुर नेपाली पराजित गर्नु भएको थियो ।

२०५१ सालको मध्यावधि चुनावमा भने नेकपाका लिला श्रेष्ठ सुब्बा विजयी हुनु भयो । सुब्बाले नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्नु भएको थियो ।  ०५४ सालमा एमालेकी कुन्ता शर्मा विजयी हुनु भएकोमा पहिलो संविधानसभाको चुनावमा भने माओवादीका किरण कुमार राईले बाजी मार्नु भयो ।

किरणले कांग्रेसका उमा बाँस्तोलालाई हराउनुभयो भने कुन्ताले चन्द्रप्रसाद श्रेष्ठलाई नै पराजित गर्नु भएको थियो । दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका कृष्णकुमार राई विजयी हुनु भएको थियो ।

गणतन्त्र स्थापनाको पहिलो चुनावमा संघतर्फ जय कुमार राई विजयी हुनु भएको थियो । उहाँ नेकपा एमालेको तर्फबाट विजयी हुनु भएको थियो । यस्तै प्रदेशसभा सदस्यमा भने प्रदिपकुमार भण्डारीले विजय प्राप्त गर्नु भएको थियो ।

भण्डारी पनि एमालेकै उम्मेदवार हो । २०१५ सालको चुनावमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । त्यो बेला धरान क्षेत्रबाट दिक्षाज्ञान चौधरी नेपाली कांग्रेसका तर्फबाट विजयी हुनु भएको थियो ।

यसरी तोडियो नेकपाको विरासत

पार्टी एकता भएपनि तल्लो तहसम्म भावनात्मक एकता नहुनुलाई नेकपाले हारेको कारण मानेको छ । तर अघिल्लो पालिका चुनावमा निर्वाचित भएर धरानको नेतृत्व सम्हाल्न गएका जनप्रतिनिधिको व्यवहारलाई नेकपा हारको पहिलो कारण मान्न सकिन्छ । योबाहेक पालिकामा नेकपाले बितेको दुई वर्ष देखाएको कार्यदक्षतालाई हारको कारण मान्नेहरु पनि धेरै छन् ।

यस्तै नेतृत्व तहमा चिनिएको, तर नागरिकको माझामा नभिजेको नेता चुनावी प्रतिस्पर्धामा नेकपाले उतार्नु पनि नेकपा हारको कारण मान्न सकिन्छ । तिलक राई लामो समयदेखि धरानमा भिजेको नेता हो । बिभिन्न सामाजिक संघ संस्थादेखि राजनीतिमा धरानका बासिन्दामाझमा परिचित नेता भएकाले पनि उहाँको जीत भएको मान्न सकिन्छ ।

तिलकको तुलनामा प्रकाश राई धरानमा परिचित नाम होइन । सधैं सुकुम्बासीको मतका कारण विजयी हुँदै आएको नेकपा यसपटक भने कर विवाद तथा खानेपानी आयोजनाको विवादका कारण सुकुम्वासीका बीचमा अलोकप्रिय हुँदै गएको थियो ।

कांग्रेसले चुनावका बेला यसैलाई मुख्य एजेण्डाका रुपमा उठाएकाले पनि उसको जित भएको मान्न सकिन्छ । योबाहेक तिलक राई अघिल्लो स्थानीय चुनावमा पराजित भए पनि धराने नागरिकको मुद्दामा सधैं साथमा रहेकाले पनि यस पटक कांग्रेसले लाल किल्ला तोड्न सफल भएको हो ।

यो बाहेक जातीय मत पनि तिलकको पक्षमा गएको मान्न सकिन्छ । किराँत राई यायोख्खाको केन्द्रीय अध्यक्ष भइसकेकाले पनि धरानमा तिलकको राम्रो पकड थियो ।

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

1 Comments

  • ज्योति

    Dec. 2, 2019, 6:33 p.m.

    एजेण्डा र एकता ले गर्दा धरानमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। तल्लो वर्गमाथि अत्यधिक कर, महंगी, भ्रष्टाचार, सुकम्वासी समस्यामा झुटा आश्वासन, सडक आतंक, लौरो उठाए नि जित्ने अभिव्यक्ति लगायतका एजेण्डा धरानलाई सधैं नेत्तृत्व गर्नेहरूले दिए, एकता काग्रेंसले देखायो। परिणाम ०४७ साल पछी पहिलोपटक धरानवासीको विश्वास नेपाली कांग्रेस धरानले पायो।

  •  0 Reply

तपाईको प्रतिक्रिया