बैंकहरुले चर्काे ब्याज लिएर व्यापार गर्ने दिन गए : अर्थ मन्त्री खतिवडा

 मंसिर २०, २०७६ शुक्रबार १४:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ । 

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकीकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठूलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो । 

उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्नेभन्दा मध्यकालीन र दीर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताउनुभयो । त्यसका लागि ठूलो आकारको बैंक हुँदा सहज हुने उहाँको भनाइ थियो । 

उहाँले अल्पकालीन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठूलो पुँजी निर्माणका लागि ठूलो बैंक आवश्यक रहेको समेत बताउनुभयो । उहाँले ठूलो बैंकले विदेशी वित्तीय संस्थाबाट पुँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउनसमेत आग्रह गर्नुभयो । 

उहाँले ठूलो बैंक भएपछि ठूलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मर्जरपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले बैंकहरुले प्रविधिमा लगानी बढाइ पछिल्लो समय देखिएका चुनौतीलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । 

गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गर्नुभयो ।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । ठूलो बैंकले अर्थतन्त्रमा विशेष महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पुँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया