२९ देश ६६ चलचित्र : तेञ्जिङ-हिलारीदेखि हिउँ चितुवासम्मका कथा !

 मंसिर २०, २०७६ शुक्रबार १५:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो साता कला साहित्य तथा चलचित्र पारखीहरुका लागि विशेष रहेको छ ।

आउँदो साता पोखरामा ४ दिने नेपाल साहित्य महोत्सव तथा काठमाण्डौमा ५ दिन काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव(किम्फ) आयोजना हुँदैछ । 

आउँदो मसिंर २५ देखि २९ गतेसम्म काठमाण्डौको राष्ट्रिय सभा गृृह र नेपाल पर्यटन बोर्डमा किम्फ आयोजना हुँदैछ । त्यस्तै मसिंर २७ गतेदेखि मंसिर ३० गतेसम्म पोखरामा नेपाल साहित्य महोत्सव हुँदैछ ।

किम्फले यस पटकको महोत्सवमा सीमान्त आवाज (भ्वाइसेज फ्रम द मार्जिन)लाई केन्द्रीय विषय  बनाएको छ ।

एडमण्ड हिलारीको जन्म शताब्दी

महोत्सवको प्रारम्भमा चलचित्र ‘द एसेन्ट अफ एभरेष्ट’ को प्रदर्शनी गरिनेछ ।  इटालीका निर्देशक एन्तोनेलो पादोभानोले निर्देशन गरेको यो चलचित्र सगरमाथामा पहिलो पटक सफल आरोहण गर्ने आरोही सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित रहेको छ ।

द एसेन्ट अफ एभरेस्टका निर्देशक एन्ताेनेलाे पादाेभानाे

यो वर्ष विश्वभर नै हिलारीको जन्म शताब्दी विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् १९१९ जुलाई २० तारिखमा जन्मेका हिलारीको निधन सन् २००८ जनवरी ११ मा भएको थियो । सन् १९५३ मे २९ मा तेन्जिङ र हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसै विषयलाई एन्तोनेलोले फिल्ममा उतारेका छन् ।

द एसेन्ट अफ् एभरेस्टबाट लिइएकाे स्टिल फाेटाे‘द एसेन्ट अफ् एभरेस्ट’ मा निर्देक एन्तोनेलोले सर एडमण्ड हिलारीबाटै त्यतिबेलाको अनुभव सुनाएका छन् । चलचित्रको ट्रेलरमा हिलारीले आरोहणका बेला भोगेका उतारचढावका घटना सुनाएका छन् ।

द एसेन्ट अफ् एभरेस्टबाट लिइएकाे स्टिल फाेटाे

चलचित्रमा अहिलेसम्म थाहा नभएका केही कुरा पनि हिलारीले भनेको बताइएको छ । साथै चलचित्रमा हिलारी र तेन्जिङबीचको सम्बन्ध पनि समेटिएको छ । निर्देशक एन्तोनेलोले ६० भन्दा बढी वृत्तचित्र निर्माण गरिसकेका छन् ।

त्यस्तै सर एडमण्ड हिलारीकै जीवनमा आधारित वृत्तचित्र ‘ओसन टु स्काई’ पनि महोत्सवको विशेष आकर्षण रहेको छ । माइकल डिलियनले निर्देशन गरेको यो वृत्तचित्र सर एडमण्ड हिलारीको गंगामा जेट एक्सिपिडिसमा आधारित छ ।

सन् १९७७ मा डिलियनले हिलारीलगायतका क्रू मेम्बर(छोरा पिटर हिलारीसमेत) को जेट बोट एक्सपिडिसनका दृश्य खिचेका थिए । तीनै फुटेज र केही क्रू मेम्बरसँगको अन्तर्वार्तालगायतलाई समेटेर उनले फिचर लेन्थ डक्युमेन्ट्री बनाएका हुन् । 

२९ देश ६६ चलचित्र

किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए ।  तीमध्ये २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् ।

प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिनेछन् । यसपालि नेपाली पानाराेमा विधामा डाेन्डुप छिरिङकाे 'आमा खान्डाे', गणेश पाण्डेयकाे 'काे-हसबेन्ड', निपिल शर्माकाे 'अतिसर्ग', केदार श्रेष्ठकाे 'जुनुकाे जुत्ता' लगायतका चलचित्र रहेका छन् ।

यसपटक किम्फद्वारा ‘परिवर्तित नेपाल’शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन् ।

यस पटक महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन गरिनेछ । स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ । 
यसपटक निर्णायक मण्डल (ज्यूरी) मा फिल कोट्स (बेलायत), जे. क्यूली (कोरिया), ग्याब्रियला कुह्न (पोल्याण्ड) रहेका छन् ।

किम्फ २०१९ मा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन पनि गरिनेछ ।

हिउँ चितुवा संरक्षणसम्बन्धी कथावाचन

यसपटक महोत्सवमा चलचित्र प्रदर्शनी सँगसँगै विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ)को हिउँचितुवा संरक्षणसम्बन्धी कथावाचन कार्यक्रम आयोजना हुनेछ । जसमा घनश्याम गुरुङ, समन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् । त्यस्तै महोत्सवमा प्लान इन्टरनेशनलको महिला सशक्तिकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ ।

चर्चित चलचित्रकर्मीद्वारा मास्टर क्लास

यसपटक ब्रिटिश काउन्सिलको तर्फबाट प्यानल डिस्कसन र फिल्म प्रदर्शनी गरिनेछ । त्यस्तै एसियन कला संग्रहालयबारे आङ छिरिङ शेर्पाको मास्टरक्लास र साहसिक फिल्म निर्माणसम्बन्धी मास्टरक्लास माइकल डिलनले सञ्चालन गर्नेछन् । 

किम्फ सन् २००८ देखि इन्टरनेसनल एलायन्स फर माउन्टेन फिल्म नामक अन्तर्राष्ट्रिय संगठनको सक्रिय सदस्य रहँदै आएको छ । यस अन्तर्राष्ट्रिय संगठनमा २० देशका २६ वटा माउन्टेन फिल्म फेस्टिभलहरू सदस्य रहेका छन् र यसको मुख्यालय इटलीको टुरिन शहरमा रहेको छ।

पुरस्कारमा वृद्धि

यस पटकदेखि पुरस्कार राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने चलचित्रलाई क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैया दिने व्यवस्था गरिएको छ । त्यस्तै ‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन)चलचित्रलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ । गैरकथानक विधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ ।

विगतका महोत्सवहरुमा पर्वतारोही दा गोम्बु (भारत), डग स्कट(बेलायत), हरिश कपाडिया (भारत), नाजिर सवीर (पाकिस्तान), ब्रिजिट मुइर (अष्ट्रेलिया), डेविड व्रेसियर (संयुक्त राज्य अमेरिका), जोन पोर्टर (वेलायत), जोन इनरडेल (वेलायत) जस्ता विख्यातपर्वतारोहीहरु तथा स्वीस भूगर्भविद् टोनी हागन, नेपालका विद्वान डा. हर्क गुरुङ, डा. तीर्थबहादुर श्रेष्ठ आदिको सहभागिता रहेको थियो ।

किम्फ : त्यहाँदेखि यहाँसम्म

हिमाल एसोसिएशनले सन् २००० मा पहिलोपटक काठमाण्डौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आयोजना गरेको हो । किम्फको पहिलो संस्करणको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यसयता किम्फका १६ संस्करण सम्पन्न भइसकेका छन् ।

किम्फको सुरूका चार संस्करण (सन् २०००-२००६) दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए । सन् २००७ यता किम्फ प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ ।

सन् २००७ देखि किम्फलाई प्रतियोगितात्मक स्वरूप प्रदान गरियो र अन्तर्राष्ट्रिय खण्डमा प्रथम, द्वितीय र तृतीय हुने चलचित्रलाई क्रमशः डेढ लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार दिने चलन थालियो ।

त्यसै वर्षदेखि युवा नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘नेपाल पानोरामा’नामक नयाँ खण्डको सुरुवात गरियो ।

किम्फका सुरूका चार संस्करण रुसी साँस्कृतिक केन्द्रमा सम्पन्न भएको थियो भने सन् २००७ देखि २०१३ सम्म राष्ट्रिय सभागृहमा यसको आयोजना गरियो । सन् २०१४ मा सार्क शिखर सम्मेलन काकारण राष्ट्रिय सभागृह उपलब्ध नभएपछि किम्फका चार संस्करण (सन् २०१३–२०१७) कुमारी हलमा आयोजना गरिएको थियो ।

सन् २०१८मा किम्फ पुनः राष्ट्रिय सभागृह फर्किएको हो र यस वर्ष पनि राष्ट्रिय सभागृहमै यसको आयोजना हुनेछ । दोस्रो प्रदर्शनीस्थलका रूपमा नेपाल पर्यटन बोर्डको अडिटोरियम उपयोग गरिनेछ ।

किम्फ : नेपाली चलचित्रकर्मीलाई विश्वसामु पुर्‍याउने मञ्च

किम्फले धेरै युवा नेपाली चलचित्रकर्मीहरुलाई चिनारी गराउने र मञ्च प्रदान गर्ने काम गरेको छ । दिपक रौनियार, मीनबहादुर भाम, मोहन मैनाली, ध्रुव बस्नेत, केसाङ छेतेन, दिपेन्द्र भण्डारी, रमेश खड्का, भोजराज भाट, गणेश पाण्डे, देवकी विष्ट, पूजा गुरुङ, अस्मिता शिरिष, प्रदिप पोखरेल, सेनाङ ग्यान्जो तामाङ केही यस्ता नाम हुन् ।

दिपक रौनियारको पहिलो सर्ट फिल्म ‘चौखेट’ किम्फमै रिलिज भएको थियो । मीनबहादुर भामको ‘बाँसुल्ली’ नामक सर्ट फिल्म पनि पहिलो पटक किम्फमै प्रदर्शित भएको थियो ।

किम्फमा पुरस्कृत नेपाली फिल्महरु विश्वका विभिन्न चलचित्र महोत्सवहरुमा जाने गरेका छन् । भोजराज भाटको ‘सुनाकली’ संसारभरका सयवटा भन्दा बढी र गणेश पाण्डेयको ‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री चालीस वटाभन्दा बढी चलचित्र महोत्सवमा प्रदर्शन भइसकेका छन् । 

महोत्सवको तालिका हेर्नुहोस् 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया