पोखरामा सुरु भयो नेपाल साहित्य महोत्सव

 मंसिर २७, २०७६ शुक्रबार १९:२३:२२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ पोखरा । मौसममा अत्याधिक पानी पर्ने पोखरामा मंसिरको यो बेमौसममा पनि शुक्रबार बिहानैदेखि मुसलधारे पानी परिरहेको छ । झरीकै कारण पोखराको मौसम चिसो छ ।

फेवा किनारमा शुक्रबारदेखि सुरु हुने आईएमई नेपाल साहित्य महोत्सवका निम्ति मञ्च सिँगारेर राखिएको थियो । पानी परेका कारण तयार पारिएको मञ्चबाट उद्घाटन सत्र हुन सकेन । झरी रोकिने छाँटकाट नदेखिएपछि महोत्सव स्थल नजिकैको एक रेष्टुरेण्टको हलबाट महोत्सवको सुरुवात गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गुरुङले नेपाल मात्र नभई एसियाकै महत्वपूर्ण एवम् भव्य महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताउनुभयो । आफू साहित्यको विद्यार्थी नभए पनि यो महोत्सव पोखरामा गर्न पाउनुले आफूलाई धन्य ठानेको बताउनुभयो ।

सुन्दास दिदीबहिनीको वेदवाचनसँगै सुरु भएको महोत्सवको सुरुवातमा पूर्व अर्थमन्त्री एवम् नागरिक अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रह्यो । उहाँले ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ शीर्षकमा प्रवचन दिनुभयो । विशेषगरी लोकतन्त्रको सुरुवात, नेपालमा यसको अवस्थासँगै यसको महत्वबारे पाण्डेले प्रवचन दिनुभयो ।

पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल साहित्य महोत्सवको आठौं संस्करणको पहिलो दिनमा विभिन्न सेसनमा रोचक एवम् बौद्धिक छलफल चल्यो । तालवाराही चोक, लेकसाइड पोखरामा शुक्रबार एक भव्य समारोहबीच उद्घाटन भएको महोत्सवको पहिलो दिन ६ सेसन सञ्चालन भए ।

महोत्सवको पहिलो सेसन थियो, लेक रहे पो लेकसाइड । यसमा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले लेकसाइडबारे आफ्ना भनाइ राख्नुभयो । यस सत्रमा फेवातालको अतिक्रमण हुँदै गएको र यसलाई बेलैमै ध्यान नदिए फेवाताल पुरिने अवस्था आउने चिन्ता व्यक्त गरिएको छ । यो सत्रको प्रस्तोता दीपेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

दोस्रो सेसन थियो, समानताको लडाइँ । यसमा डाक्टर चन्द्रा भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गर्नुभयो । यो सेसनमा महिला आन्दोलनदेखि लोकतन्त्रको प्राप्तिसम्म महिलाहरुका योगदान र समानता आदिका विषयमा चर्चा भएको थियो ।

महोत्सवको तेस्रो सेसन, हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालमाथि आधारित थियो । हास्यव्यङ्ग्य: भैरव अर्याल मीमांसा शीर्षक सेसनमा साहित्यकार अमर न्यौपाने र रोचक घिमिरे सहभागी हुनुभएको थियो । उहाँहरुले हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा भैरव अर्यालले पुर्‍याएको योगदानबारे चर्चापरिचर्चा गर्नुभयो ।

चौथो सेसन रह्यो, संघीयताको सकस । यसमा टीकाराम यात्रीसँग  प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्य छलफलमा हुनुहुन्थ्यो ।

पाँचौं सेसन थियो, काव्यिक आन्दोलन । यो सेसनमा तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाले नेपालमा काव्यिक आन्दोलनका विषयमा समीक्षात्मक अभिव्यक्ति दिनुभएको थियो ।

यसैगरी महोत्सवको पहिलो दिनको अन्तिम सेसन थियो, वाह गजल । यो सेसनमा गजल वाचन भएको थियो । शीतल कादम्बिनी, नीरज भट्टराई, ईश्वर दाहाल, इम्तियाज वफा, संगीता थापा, राबत र बाबु त्रिपाठी यस सेसनमा सहभागी हुनुहुन्थ्यो । झरीका कारण बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? आफ्नै गाँउ फर्की आएँ, काव्यिक आन्दोलको सेसनको समय पछाडि धकेलिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया