मलेसियाकाे घरफिर्ती केन्द्रमा नेपाली सोमकुमार : नेपाली बुझ्दैनन्, बुवाआमा र गाउँ पनि चिन्दैनन्

 मंसिर २९, २०७६ आइतबार १६:५०:११ | उज्यालो सहकर्मी

मलेसिया – नाम सोमकुमार तामाङ । घर उदयपुर । तर उदयपुर कुन ठाउँ हो थाहा छैन ।

नेपाली भाषा बुझ्दैनन् । मलेसियाको स्थानीय भाषा भने प्रष्ट बोल्न सक्छन् ।

मलेसियाको लेङगेन इमिग्रेशन डेटिन्सन सेन्टरमा गएको २६ गते भेटिएका सोमकुमारको कुरा सामाजिक सञ्जालमा शेयर गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भूसालले लेख्नुभएको छ, ‘अचम्मका सोमकुमार ।’

डेटिन्सन सेन्टरको भ्रमणमा जाँदा सोमकुमारसहित ११ जना नेपाली श्रमिकसँग छलफल गरेको र उनीहरुका परिवारसँग पनि कुराकानी गराइदिएको महानिर्देशक भूसालले उल्लेख गर्नुभएको छ ।

‘नेपाली श्रमिकले जेलमा भोगेका दुःख र परदेश यात्राका कुरा सुन्यौं, अनि अचम्मका सोमकुमारसँग पनि भेट्यौं,’ महानिर्देशक भूसाल भन्नुहुन्छ । अव‌धानिक हैसितमा मलेसियामा काम गरेकाले सोमकुमार पक्राउ परे । तर परिचय खुल्ने कुनै कागजात छैन ।

महानिर्देशक भूसालका अनुसार सोमकुमार १७ वर्षअघि मलेसिया पुगे । भिनाजु गंगावीर तामाङले मलेसिया पुर्याएका हुन् । १४ वर्षको उमेरमा सोमकुमार अर्कैको पासपोर्टमा आफ्नो फोटो टाँसेर मलेसिया पुगेका थिए ।

रात्रीबस चढेर घरबाट काठमाण्डौ गएको र भोलिपल्टै काठमाण्डौबाट मलेसिया उडेको सोमकुमार बताउँछन् । सोमकुमार एकजना मात्र साथीलाई चिन्छन् । डम्बरबहादुर बस्नेत । योभन्दा बढी साथीको बारेमा पनि थाहा छैन ।

इण्डोनेशीयन केटीसँग विवाह गरेर बसेका सोमकुमार मलेसिया जोहरबारुको ८८ प्लाष्टिक कम्पनीमा काम गर्ने बताउँछन् । महानिर्देशक भूसालको टोलीले फोनमा आफन्तसँग कुरा गराएर वास्तविकता जान्न खोज्दा आफ्नो इण्डोनेशियन सालीलाई फोन गरेर नेपाली दूतावासमा गएर आफूलाई छुटाउन आग्रह गरे ।

तर सोमकुमार नेपाली हुन भन्ने प्रमाण फेला पारेको छैन । नेपाली नागरिक हुन् भने नेपाली नबुझ्ने, बुवाआमाको नाम र ठाउँ समेत थाहा नभएकाले अचम्ममा परेको भन्दै महानिर्देशक भूसालले सोमकुमारबारे कसैलाई केही जानकारी भए खबर गर्न पनि आग्रह गर्नुभएको छ ।

साथै मलेसियामा भिसा अवधिभन्दा बढी नबस्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ । मलेसियाले अहिले अवैधानिक रुपमा काम गरिरहेका सबै विदेशी श्रमिकलाई स्वदेश फर्किंने मौका दिएको छ । यो मौका डिसेम्बर ३१सम्म रहेकाले यो अवसरको फाइदा लिन मलेसियास्थित नेपाली दूतावासले सबैलाई आग्रह गरेको छ ।

 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया