चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

 मंसिर ३०, २०७६ सोमबार १३:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । 

उहाँले चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई अहिले चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको छ । त्यसपछि आज नै पशुपतिमा दाहसंस्कार गर्ने तयारी छ ।

भट्टराईको आइतबार राति सवा १० बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । 

अस्पताल पुर्‍याउनुअघि नै उहाँको निधन भैसकेको डाक्टरले बताएका छन् । ५२ वर्षीय भट्टराईकी श्रीमती र एक छोरा छन् ।

तीन दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका भट्टराईले पछिल्लो पटक ‘यात्रा’ नामक सिनेमा बनाउनु भएको थियो । उहाँले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गर्नुभएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया