काठमाण्डौ गोल्डेन्सकाे लगातार दोस्रो हार : सुपर ओभरमा बुटवलसँग पराजित

 मंसिर ३०, २०७६ सोमबार १७:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत काठमाण्डौ गोल्डेन्सले लगातार दोस्रो हार ब्यहोरेको छ । साेमबार भएको खेलमा काठमाण्डौ बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भयो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए । मध्यम सुरुवात गरेको काठमाण्डौले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको थियो । उसका ओपनर सुवास खकुरेल १५ रनमा रनआउट भएपछि काठमाण्डौले पहिलो विकेट गुमायो ।

त्यसपछि गौरव ताेमार मात्र एक रनमा आउट भएपछि काठमाण्डौले ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै टिमकाे स्काेर ५० रन हुँदा जयकिशन कोल्सावाला ब्यक्तिगत २८ रनमा तेस्राे विकेटका रुपमा आउट भए ।

उसका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । कप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए भने आदिल खान २३ रनमा आउट भए । यस्तै सुबोध भाटीले खाता खोल्न सकेनन् । ८९ रनमा ६ विकेट गुमाएको काठमाण्डौका लागि पवन सर्राफ र अमरसिंंह रौटेलाले अर्धशतकीय साझेदारी गरे । 

जवाफमा बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै स्कोर बराबरी गरेको थियो । उसको जितमा हर्ष टोंकले सर्वाधिक ४५ रन बनाए । यस्तै शंकर रानाले २० तथा अफ्ताबुदिन अहमदले १४ रन थपे ।

यस्तै सिंभम सिंंहले ३२ रनको योगदान गरे भने कप्तान सोमपाल कामीले ११ रन थपे । तर अन्तिम बलमा बुटवललार्ई जितका लागि एक रन चाहिएकोमा पवन सर्राफले विकेट लिएपछि खेल बराबरी भयो ।

सुपर ओभरमा बुटवलले १२ रन बनायो । तर जवाफमा काठमाण्डौले पूरा गर्न सकेन र नतीजा बुटवलकाे पक्षमा गयाे । यो हारपछि काठमाण्डौको प्लेअफको यात्रा कठिन बनेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया