सौराहामा हात्ती महाेत्सवकाे शुभारम्भ (तस्बिरसहित)

 पुस १०, २०७६ बिहिबार २०:२०:२७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा १६ औंँ हात्ती महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उद्घाटन गर्नुभयाे।

उदघाटनका क्रममा दाहालले पुरानो निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृयामा रहेको बताउँदै मानव, जनावर र निकुञ्जको हित हुनेगरी निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको बताउनुभयाे ।

मानव-वन्यजन्तु द्वन्द्व कम गर्नसके राम्रो हुने बताउँदै उहाँले हात्ती महोत्सवको आयोजना गरी हात्ती र मान्छेबीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्ने राम्रो पहल भएको बताउनुभयो ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको हात्ती महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउँदै अध्यक्ष प्रचण्डले नेपालको पर्यटन व्यवसाय समृद्धिका लागि अनन्त विकासको क्षेत्र भएको बताउनुभयो ।

अबको दशकलाई विकास र समृद्धिको दशकको रुपमा चिनाउँदै त्यसै अनुसार काम गर्नुपर्ने बताउदै उहाँले देशमा सबै मिलेर ल्याएको परिवर्तन पनि मिलेरै संस्थागत गर्नुपर्ने विकास र समृद्धिको काममा पनि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

‘हात्ती मेरो साथी’ भन्ने नाराका साथ आयोजना गरिएको हात्ती महोत्सवमा लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सुरु महोत्सवलाई महत्वका साथ लिइएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सव १८ गतेसम्म बाघमारा सामुदायिक वनको चौरमा सञ्चालन हुनेछ । 

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा भएको हात्ती महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो तथा हात्ती पेन्टिङ प्रतियोगिता हुनेछन् । 

महोत्सव अवधिमा टाँगादौड, गाडादौड र डुँगादौड पनि हुने आयाेजकले बताएका छन् । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ३ सरकारले भ्रमण वर्षको शुभारम्भ साैराहाबाटै गर्दैछ । भ्रमण वर्षलाई लक्षित गर्दै यसपालिको महोत्सवको समयावधि थप गरिएको जानकारी दिँदै अध्यक्ष भट्टराईले सौराहामा भ्रमणको शुभारम्भका लागि यस वर्ष ४ दिन समय थपिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया