भ्रमण वर्षको पहिलो दिन ४ सय भारतीय पर्यटकले 'कालिञ्चाेक केवलकार' चढे

 पुस १८, २०७६ शुक्रबार ८:१३:५७ | उषा तामाङ
unn.prixa.net

दाेलखा – भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात् गएकाे बुधबार दोलखाको कालिञ्चाेकका एक हजारभन्दा बढीले केवलकार चढेका छन् । जनवरी १ तारिखमा एक हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले केवलकार चढेका हुन् । 

दोलखाको पर्यटकीय सम्पदाकाे रुपमा कालिञ्चोक भगवती मन्दिरको दर्शनका लागि भ्रमण वर्षको पहिलो दिन छिमेकी जिल्ला, काठमाण्डाैसहित भारतका गरी एक हजार दुई सय जनाले केवलकार चढेको कालिञ्चाेक दर्शन लिमिटेडले जनाएको छ ।

कालिञ्चाेक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शिवाकोटीले भ्रमण वर्षकाे पहिलाे दिन केवलकार चढ्नेमध्ये चार सय जना पर्यटक भारतीय नागरिक रहेको जानकारी दिनुभयो । सीईओ शिवाकाेटीका अनुसार अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पाँच लाख ५० हजार रुपैयाँ रकम सङ्कलन भएको छ । 

भ्रमण वर्षलाई लक्षित गर्दै केवलकारले टिकटमा छुट दिइरहेको छ । कालिञ्चाेक दर्शन लिमिटेडले सञ्चालन गरेको केवलकार चढ्ने दोलखासहित तीन जिल्लाका स्थानीयलाई छुट दिइएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि टिकटमा ४० प्रतिशत छुट दिने निर्णय गरेको कालिञ्चाेक दर्शन लिमिटेडले जनाएको छ । याे छुट निश्चित अवधिका लागि मात्रै हाे । 

छुट प्राप्त गर्न तीन जिल्लाका स्थानीयले परिचय र ठेगाना खुलेको नेपाली नागरिकता, मतदाता परिचय पत्र वा अन्य कुनै परिचय पत्र साथमा लैजानु पर्नेछ ।साथै कालिञ्चाेक दर्शन लिमिटेडले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई टिकट शुल्कमा २५ प्रतिशत छुट दिँदै आएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया