माथिल्लो तामाकोशीको निर्माण कार्य ९९.३ प्रतिशत सम्पन्न

आउँदो असारबाट विद्युत उत्पादन गरिने

 पुस २३, २०७६ बुधबार १४:४३:३६ | उषा तामाङ
unn.prixa.net

दोलखा – स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गर्न सुरु गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना अर्न्तगतको यस जलविद्युत आयोजनाको निर्माण कार्य ९९.३ प्रतिशत सम्पन्न भइसकेको छ । 

आयोजनाको कुल ६ युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट बिजुली असार महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभएको हो । 

हाल, आयोजनाको निर्माण कार्य विभिन्न ४ ‘लट’मा भइरहेको छ । जसमध्ये सन् २०१८ को डिसेम्बर महिनामा निर्माण कार्य सकिएको ‘लट’ नम्बर ३ को इलेक्ट्रोमेकानिकल कार्य समेत शत प्रतिशत सम्पन्न भइसकेको छ । 

त्यसैगरी ‘लट’ नम्बर १ को सिभिल कार्य (भाैतिक संरचनागत कामहरु)  ९९.५ प्रतिशत काम सकिएको छ ।  ‘लट’ नम्बर ४ को प्रसारण लाइनको काम शत प्रतिशत र सबस्टेशन निर्माणको कार्य ८० प्रतिशत सम्पन्न भएको छ । 

जनवरी महिनाको अन्तिम सम्ममा ४ नम्बर ‘लट’को काम सम्पन्न गरी अप्रिल महिनाभित्र उपकरण जडान गरिसक्ने लक्ष्य रहेको छ । 

यस्तै, ‘लट’ नम्बर २ को पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स म्याकोको ढिलासुस्तीको कारण अपेक्षाकृत प्रगति हुन सकेको छैन् । कार्य सम्पादनमा भएको ढिलासुस्तीका कारण विद्युत उत्पादनमा प्रत्यक्ष प्रभाव परेको आयोजनाका प्रवक्ता डा.न्यौपानेले जानकारी दिनुभयो ।

त्यस कम्पनीको कमजोर कार्यसम्पादनपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (‘लट’ ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । 

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गएकाे २३ पुसमा आयोजनालाई वित्तीय भार नपर्ने गरी निर्माण कार्य सम्पन्न गर्ने त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स म्याकोले नै गरिरहेको छ ।

भारतीय कम्पनी टेक्स म्याकोलाई आयोजनाकाे जिम्मा पूरा गर्न निरन्तर ताकेता भइरहेको आयोजनाले जनाएको छ । एउटा युनिटबाट बिजुली उत्पादन भएको ३ महिनाभित्र बाँकी रहेका ५ वटै युनिटबाट बिजुली उत्पादन हुनेछ ।

२०६७ साल भदौ ७ गतेबाट आयोजनाको मुख्य सिभिल कार्य सुरु भएको थियो ।  आयोजनाको काम सम्पन्न गर्न झण्डै ७० अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया